अर्जुन भुसाल
छत्रदेव, अर्घाखाँची । छत्रदेव गाउँपालिका वार्ड नम्वर ३ का नवनिर्वाचित जनप्रतिनिधिहरुको पदभार ग्रहण तथा वार्ड कार्यालयको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
गाउँपालिकाका प्रमुख लेखनाथ पोख्रेलले बोडमा राखिएको व्यानर अनावरण गर्दै कार्यालयको उद्घाटन गर्नुभयो । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि समेत रहनुभएका गाउँपालिका प्रमुख पोख्रेलले छत्रदेव गाउँपालिकालाई मुलुककै नमूना गाउँपालिकाको रुपमा परिणत गर्ने बताउनुभयो । उहाँले गाउँपालिकाको विकासका लागि सबै पार्टीको सहयोग लिएर आफू अघि वढ्ने बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख तुल्सी देवी श्रेष्ठ, गाउँपलिकाका कार्यकारी प्रमुख रामजी जोशी, वडा नम्वर २ का वडा अध्यक्ष राजेश पन्थी लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा वडा नम्वर ३ का वडा अध्यक्ष तेजप्रसाद खनाल, महिला सदस्य सुमित्रा पन्त, दलित महिला सदस्य निमाकला नेपाली, खुल्ला सदस्य लेखनाथ पाण्डे (आइतबारे), लेखनाथ वञ्जाडेले पदभार ग्रहण गर्नुभएको छ । सो कार्यक्रममा गाउँपालिकाका प्रमुख र उपप्रमुखलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रम वडा अध्यक्ष तेजप्रसाद खनालको अध्यक्षता, सामाजिक परिचालिका मिना पौडेलको स्वागत मन्तव्य र वडा सचिव महम्मद शमसाद आलामको सञ्चालनमा सम्पन्न भएको थियो ।