अमेरिकी हवाई आक्रमणमा १६ अफगान प्रहरीको मृत्यु

अफगानिस्तानमा भएको अमेरिकाआवद्ध हवाई आक्रमणमा परी १६ अफगान प्रहरीको मृत्यु भएको अधिकारीहरुले शनिबार (आज) जानकारी दिएका छन ।
यस युद्धग्रस्त देशमा वासिंगटनले गरेको पछिल्लो शान्ति वार्ताको प्रयास असफल भएको थियो ।
हेलमान्ड प्रान्तमा शुक्रबार अफगान प्रहरीको एक समूहले गाउँमा तालिवान आतंककारीहरु लक्ष्य गर्दै कारबाही गरिरहेको अवस्थामा सो घटना भएको प्रहरी प्रवक्ता सलाम अफगानले एएफपी समाचार समितिलाई जानकारी दिएको छ ।
हेलमान्ड प्रान्तको गेरेसक जिल्लामा तालिवान आतंककारी समूहले नियन्त्रणमा लिएको परिसर लक्षित सो हवाई आक्रमण भएको थियो ।
अफगान सुरक्षाबललाई सघाउन गरेको यस हवाई आक्रमणमा आफ्ना अफगान मित्रहरुको नै मृत्यु भएको ‘नेटो मिसन इन अफगानिस्तान’द्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
प्रकाशित विज्ञप्तिमा दुभाग्यबस भएको यस घटनामा ज्यान गुमाएका सैनिक परिवारलाई गहिरो समवेदना व्यक्त गरिएको पनि बताइएको छ ।
गृह मन्त्रालयका प्रवक्ता नजिब दानिसले यस घटनाको अनुसन्धान र पिडितका परिवारलाई सहयोग गर्नको लागि मन्त्रालयबाट एक प्रतिनिधि मण्डल त्यसतर्फ पठाएको बताएका छन ।
गत फेब्रुअरीमा सनगीन जिल्लामा अमेरिकाआवद्व एकहवाई आक्रमणमा परी १८ सर्वसाधारण मारिएका थिए । मारिएका ती सर्वसाधारणमा प्रायः महिला र बालबालिका रहेका थिए ।
गत नोभेम्बरमा उत्तरपूर्वी प्रान्त कुन्दुजमा भएको अमेरिकाआवद्व हवाइ आक्रमणमा ३२ अफगान नागरिक मारिएका थिए ।
सन् २०१५ को अक्टोबरमा अमेरिकाआवद्व एकहवाई आक्रमण अस्पतालमा पर्दा ४२ व्यक्तिको मृत्यु भएको थियो । रासस /एएफपी