उत्तर कोरियाको ब्यालिस्टिक मिसाइलको निशाना अमेरिका

उत्तर कोरियाले पछिल्लो पटक परीक्षण गरिएको इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलको निशाना अमेरिका रहेको बताएको छ ।
उत्तर कोरियाली संचारमाध्यमका अनुसार त्यहाँका सर्वोच्च नेता किम जोङ्ग उनले भने, यो क्षेप्यास्त्रको सफल परीक्षणले अब पुरा अमेरिका हाम्रो निशानामा रहने प्रमाणित भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण गरिएको विषयमाथि प्रतिक्रिया जनाउँदै ‘निकै लापरवाहीपूर्ण र खतरनाक कदम’ भनेका छन् ।
उत्तर कोरियाली संचारमाध्यमका अनुसार उक्त क्षेप्यास्त्रले करिब ४७ मिनेटसम्म आफ्नो गति कायम राखेको थियो । यो क्षेप्यास्त्र तीन हजार सात सय २४ किलोमिटर माथिसम्म पुगेको बताइएको छ ।
उत्तर कोरियाको सरकारी समाचार समितिले भनेको छ, ‘देशका सर्वोच्च नेताले अब अमेरिका पूर्ण रुपमा उत्तर कोरियाको निशानामा रहेको प्रतिक्रिया दिनु भएको छ ।’
उक्त क्षेप्यास्त्र परीक्षणको केही मिनेटमै अमेरिका, जापान र दक्षिण कोरियाले यसको लोकेशन, रेन्ज र फ्लाइट टाइमबारे जानकारी सार्वजनिक गरेका थिए । तर कसैले पनि यसको विस्तृत विवरण भने दिएका छैनन् ।
उत्तर कोरियाले यस वर्षमात्र १४ क्षेप्यास्त्र परीक्षण गरिसकेको छ । (एजेन्सी)