प्रेम खड्का
ठाडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकाको ठाडामा अब देखि राती ९ पछि होटेल तथा रेस्टुरेन्ट बन्द गरिने भएको छ ।
आपराधिक गतिविधि नियन्त्रण गर्नका लागि भन्दै प्रहरीले अब देखि राती ९ पछि होटेल तथा रेस्टुरेन्ट बन्द गराउन लागेको हो ।
रात्रिकालीन समयमा मापसे गरेर होहल्ला गर्ने प्रवृति रोक्न, अवाञ्छित गतिविधि नियन्त्रण गर्न तथा सार्वजनिक सुरक्षामा असर पार्ने गतिविधि हुन नदिन यसरी होटेल तथा रेस्टुरेन्ट बन्द गराउन लागेको ठाडा प्रहरी चौकीका प्रहरी नायब उपरीक्षक नवराज न्यौपानेले अर्घाखाँचीडट्कमलाई बताए ।
राती अबेरसम्म होटल रेष्टुरेन्ट खुला हुँदा अपराध बढेको निष्कर्ष निकाल्दै प्रहरीले ९ बजेपछि बन्द गर्नुपर्ने नियम लगाएको हो । अब राती अबेरसम्म खोल्ने होटल र रेष्टुरेण्ट सञ्चालक र ग्राहकहरुलाई प्रहरीले पक्राउ गर्ने भएको छ ।
उता यस क्षेत्रमा आपराधिक गतिविधि गर्ने जो कोहीलाई पानी भित्र गएपनि नछोड्ने न्यौपानेले बताए । रात्रिकालीन समयमा मापसे गरेर होहल्ला गर्नेलाई नियन्त्रणमा लिनुका साथै मदिरा बेचबिखन बन्द गराउन, सवारी चेकजाचलाई तिब्र गराउने प्रहरीले बताएको छ ।
पछिल्लो समय शीतगंगा नगरपालिकामा मादक पदार्थ सेवन गरि धेरै होहल्ला र कुटपिटका घटना बढेको देखिन्छ ।