– मुक्तिनाथ भुसाल
सन्धिखर्क, अर्घाखाँची । वर्षातको बेला पानी पर्नु, हिलो हुनु सामान्य कुरा हो । तर, वर्षा र हिलोजस्तो सामान्य कुरा पनि अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कवासीका लागि असामान्य र दुःखको सन्दर्भ बन्न पुगेको छ ।
सन्धिखर्कका सडकमा पिच गरेको धेरै समय बितेको छैन, तर अहिले हेर्दा पिच कहाँ छ भनी खोज्नुपर्ने अवस्था छ । अधिकांश भागका कालोपत्र उप्किएको र सडकका बीच-बीचमा परेका खाल्डामा पानी जमेको, जथाभावी हिलो परेको अवस्थाले स्थानीय वासिन्दा आजित भएका छन् । क्षतविक्षत सडकले बजारको शोभा मात्रै बिगारेको नभई यात्रुलाई असुविधा पनि उत्तिकै बढाएको छ ।
यहाँको सडकको यस्तो बेहाल हुनुमा अत्यन्त कमसल निर्माण सामग्री प्रयोग गरिनु नै खास कारण रहेको छ । केहि बर्ष अगाडि सन्धिखर्क सदरमुकामको पाणिनी चोकदेखि बसपार्कसम्म कालो पत्रे सम्पन्न गरिएको भए पनि निकै समयदेखि कालोपत्रेको निशान देख्न सकिँदैन । पाणिनी चोकदेखि क्याम्पससम्मको सडक कच्चै रहेको कारण वर्षातको हिलो बगेर यही सडकमा आउँछ ।
उक्त सडकमा पिच गर्ने ठेक्का पाएका केही व्यक्ति राम्रैसँग मोटाए । उनीहरुले प्रदान गरेको कमिसनले सम्बन्धित कर्मचारीहरु पनि उप्सिए । तर, मर्मत कार्य सम्पन्न भएको चारै महिनामा भत्किएको टँुडिखेल पर्खाल हालसम्म पनि निर्माण नगरिएकाले मञ्चलाइनका स्थानीयहरू निकै समस्यामा परेका छन् । बसपार्कदेखि ओह्रालो अर्थात् चुत्राबेशी बजार जाने सडकको मुखमै भयानक खाडल परेको कारण दिनहुँ स–साना गाडी दुर्घटनामा पर्ने गरेको छ । यसैगरी कालोपत्रे गरिएका केही सडकको दायाँबायाँ जमेको हिलोको ब्यवस्थापन नगरिएकोले सडकको अवस्था दयनीय बनेको छ ।
दुःखको कुरा त यो छ कि यसरी वर्षातमा हिलोको सामना गर्न विवश सदरमुकामवासीहरू हिउँदको समयमा मज्जैसँग धुलो खान बाध्य हुन्छन् । खानेपानीको उस्तै समस्या रहेको सन्धिखर्क नगरपालिकामा दोस्रो चरणको स्थानीय निर्वाचनपश्चात विजयी जनप्रतिनिधिहरू पनि सडक सुधारको सवालमा सुस्ताएकै अनुभूति गरिएको छ । सन्धिखर्कवासीहरू जनप्रतिनिधि जागृत भएको हेर्न प्रतीक्षारत छन् ।