म्यानमारमा रोहिंज्या मुसलमानको एउटा गाउँमा ७ सयभन्दा धेरै घर जलाएर नष्ट गराइएको मानव अधिकारवादी संस्था ह्यूमन राइट्स वाचले जनाएको छ ।
रखाइन प्रान्तको स्याटलाइट तस्वीरबाट यो निश्कर्षमा पुगिएको ह्यूमन राइट्स वाचले शनिबार (आज) उल्लेख गरेको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार अल्पसंख्यक रोहिंज्या मुसलमान विद्रोही र सुरक्षाकर्मीबीचको संघर्षमा करीब ४०० जना मारिएका छन् । जातीय हिंसा चर्किएपछि ४० हजार रोहिंज्या मुसलमान बंगलादेश पुगेका छन् ।
सेनाले जानी-जानी आफ्नो घरहरुमा आगो लगाएको विस्थापित रोहिंज्या मुसलमान समुदायले जिकीर गरेका छन् । गतहप्ता रोहिंज्या विद्रोहीले ३० ओटा प्रहरी चौकीमा आक्रमण गरेपछि त्यस क्षेत्रमा फेरि हिंसा भड्किएको छ ।
पछिल्लो हिंसामा कम्तिमा १०० जना मारिएका छन् । घटनापछि सेना परिचालन गरिएको छ । (एजेन्सी)