अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला अदालतको नयाँ जिल्ला न्यायाधीशमा रामचन्द्र पौडेल आउने भएका छन् । पौडेल पर्सा जिल्ला अदालतबाट सरुवा भएर अर्घाखाँची आउने भएका हुन् ।
यस्तै अर्घाखांची जिल्ला अदालतका जिल्ला न्यायाधीश केशवप्रसाद वास्तोला सरुवा भएर तनहुं जिल्ला अदालत जाने भएका छन् ।
साथै अर्घाखाँची जिल्लाको मुख्य निर्वाचित अधिकृतिमा जिल्ला न्यायाधीश रामचन्द्र पौडेललाई तोकिएको छ । अर्घाखाँचीमा आगामी मसिंर २१ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ ।
उता तनहुं जिल्ला अदालतमा सरुवा भएर जादै गरेका जिल्ला न्यायाधीश केशवप्रसाद वास्तोलाले अर्घाखाँची जिल्लामा जिल्ला न्यायाधीशको रुपमा रहँदा वचन दिएर एक जना अडगुरीको एकल वृद्ध महिलाको उमेर पुगेको छोरालाई उनको आफनै नाम अर्थात आमाको नामबाट नागरिकता दिलाउने कार्यमा सहयोग गर्न नसकेको भन्दै पश्चाताप गरेका छन् । वास्तोलाले मध्यरातमा आफ्नो फेसबूक पेजमा यसो भनेका छन्:-
म अर्घाखाँची जिल्लामा जिल्ला न्यायाधीशको रुपमा रहँदा मैले वचन दिएर गर्न नसकेको एउटै काम- एक जना अडगुरीको एकल वृद्ध महिलाको उमेर पुगेको छोरालाई उनको आफनै नाम अर्थात आमाको नामबाट नागरिकता दिलाउने कार्यमा सहयोग गर्न नसक्नु । यस कुरामा जाँदा जाँदै मलाई अत्यन्तै पश्चाताप लागेको छ । हुन त ती महिलाका छोरा जस्तै वावुको ठेगान नभएका छोराछोरीले आमाको नामबाट नागरिकता पाउने संवैधानिक व्यवस्था रहेको र सर्वोच्च अदालतले समेत गृह मन्त्रालयका नाममा ती वृद्ध महिला जस्तै एकल महिलाबाट जन्मेका सन्तानलाई आमाको नामबाट नागरिकता दिन कडा निर्देशनात्मक आदेश दिएको र गृह मन्त्रालयले समेत मुलुकका सवै जिल्ला प्रशासन र क्षेत्रीय प्रशासन कार्यालयहरुलाई २०६९।१०।७ मा सो आदेश कार्यान्वयन गर्न गराउन परिपत्र गरी रहेको जानकारी यस विषयमै कानूनी लडाई लडनु हुने वरिष्ठ कानून व्यवसायी मिरा ढुङ्गानाले जानकारी दिनु भएको अवस्था छ ।
यस्तो स्थितिमा स्थानीय प्रशासनको अकर्मण्ड्यता वा अल्प वुझाईका कारणले नागरिक अनागरिक भई रहनु परेको पीडा दायक स्थिति कायम रहनु दुखद विषय हो । म ती महिलालाई न्याय प्रदान गरी निजको छोरा अनागरिक हुनबाट जोगाउन, सर्वोच्च अदालतको आदेश पालना गर्न र कानूनको शासन वहाल हुने अवस्था सिर्जना गर्न अर्घाखाँची जिल्ला प्रशासनलाई हार्दिक अनुरोध गर्दछु । साथै यस विषयमा ती असहाय महिलाको तर्फबाट वोली सहयोग पुर्याई दिनुहुन पत्रकार साथीहरुमा अपिल समेत गर्दछु । यस विषयमा आवश्यक परे ती असाहाय महिलाको तर्फबाट कानूनी लडाई लडन मैले अर्घाखाँची जिल्ला अदालतका वैतनिक कानून व्यवसायी पवित्रा भट्टराईलाई सर्वोच्च अदालतबाट भएको आदेशको प्रतिलिपि उपलव्ध गराएको व्यहोरा अनुरोध गर्दछु ।