विनोद गैरे
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । जिल्ला ट्राफिक कार्यालय अर्घाखाँचीले सरकारी सेतो प्लेटका २ वटा मोटरसाईकल शनिवार आज अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा नियन्त्रणमा लिएको छ ।
महिला तथा वालवालिका कार्यालय अर्घाखाँचीको नाममा रहेको लु १ ब ४५१ नम्वरको मोटरसाईकल र जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीको नाममा रहेको वा २ ब ९२७ नम्वरको मोटरसाईकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
सरकारी नियममा विशेष काममा जिल्ला प्रशासन कार्यालयवाट सवारी साधन संचालन अनुमति पास लिएर मात्र शनिवार, सार्वजनिक विदाका दिन साथै कार्यालय समय भन्दा वाहिर सवारी साधनको प्रयोग गर्न सकिने नियम भएको र उनीहरु संग पास नभएको र निजी काममा सरकारी सवारी साधन प्रयोगमा ल्याएको ठहर गर्दै मोटरसाईकल नियन्त्रणमा लिईएको जिल्ला ट्राफिक कार्यालय अर्घाखाँचीका प्रमुख चन्द्रिका चौधरीले जानाकारी दिएका छन् ।
अर्घाखाँचीमा सेतो प्लेटका सवारी साधनहरु अध्याधिक रुपमा दुरुपयोग भएका छन् । विहान ६ बजेनै र साझँ ९÷१० वजेसम्म निर्वाद रुपमा व्यक्तिगत प्रयोजनमा सरकारी सेतो प्लेटका सवारी साधनहरु गुडीरहेका हुन्छन् । जिल्लाका प्रतिष्ठित होटल तथा रेष्टुरेन्टका अगाडी प्राय सेतो प्लेटका सवारी साधनहरु देखिन्छन् । अर्घाखाँचीमा सरकारी कार्यालयका कर्मचारीहरु खाना खान साथै खाजा खान जाँदा, ससुराली मावली तथा आफन्तीसंग भेटघाट हुन जाँदा, आफ्ना नानीवावुहरुलाई विद्यालय-घर ओसारपसार गर्न तथा नित्यान्त व्यक्तिगत काममा सरकारी सेतो प्लेटका सवारी साधनहरुको अत्याधिक दुरुपयोग गरेको पाईन्छ ।