अर्घाखाँचीमा टोप बहादुर रायमाझीद्वारा चुनावी तालमेलको लागि एमालेलाई प्राथमिकता

मालारानी गाउँपालिका हंसपुरको बामरुकमा नेकपा माओवादी केन्द्रको चुनावी कार्यक्रममा माओवादीमा प्रवेश गरेकालाई स्वागत गर्दै टोप बहादुर रायमाझी । फाइल तस्बिर 

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । आगामी मंसिर २१ गते हुन गैइरहेको प्रदेशसभा र प्रतिनिधि सभाको चुनावी तालमेलबारे अर्घाखाँची जिल्लामा गृहकार्य सुरु भएको छ । यही क्रममा अर्घाखाँचीमा माओवादी केन्द्रले नेकपा एमालेलाई चुनावी तालमेलको लागि पहिलो प्राथमिकता दिएको स्रोतले बताएको छ । 
अर्घाखाँची जिल्लामा प्रतिनिधि सभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र निर्धारण गरिए लगतै माओवादी केन्द्रको तर्फबाट टोप बहादुर रायमाझी उठने लगभग पक्का भएको छ । रायमाझीले अर्घाखाँचीमा नेपाली कांग्रेस भन्दा एमालेसँग चुनावी तालमेलको लागि प्राथमिकता दिएका छन् । एमालेबाट प्रतिनिधिसभाका लागि बलियो उम्मेदवार नभएको र प्रदेशसभा एमालेलाई दिएर तलमेल गर्न सकिने माओवादी केन्द्रको ठहर छ । एमालेबाट चेतनारायण आचार्य, पिताम्बर भुसाल, नरेन्द्र कुमार क्षेत्री र डा. दुमनसिंह थापाको नाम चर्चामा छ । समय समयमा विवादित परेका सांसद दुमनसिंह थापा क्षेत्रीलाई जिल्लाबाट टिकट नदिने पक्षमा जिल्ला स्तरिय नेताको संख्या धेरै रहेको स्रोतले बताएको छ । पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर १ बाट चेतनारायण आचार्य र नरेन्द्र कुमार क्षेत्री माओवादीका टोप बहादुर रायमाझीसँग पराजित भएका थिए । रायमाझीले प्रदेशसभाका २ क्षेत्र दिएर भएपनि एमाले वा कांग्रेससँग तालमेल गर्ने मनस्थिती बनाएको स्रोतले उल्लेख गरेको छ । 
उता नेपाली कांग्रेसबाट प्रतिनिधि सभाको लागि पुष्पा भुसाल, मान बहादुर बिक, रेवती प्रसाद भुसाल र डाक्टर रामबहादुर बिसीको नाम चर्चामा छ । उनिहरुले टिकट पाउनको लागि कसरत शुरु गरेका छन् । उनिहरु मध्ये जोसुकै उठेपनि प्रतिनिधि सभाको लागि टिकट छोडेर तालमेल गर्ने संभावना कम रहेको छ ।  कांग्रेसले प्रदेशसभामा कुनै एउटा प्रदेश क्षेत्र दिएर माओवादी केन्द्रसँग तालमेल गर्न सक्ने स्रोतले बताएको छ । पुष्पा भुसाल, मान बहादुर बिक, रेवती प्रसाद भुसाल र डाक्टर रामबहादुर बिसी जोसुकै उठेपनि उनिहरुले तालमेल गर्नुपरेमा प्रदेश सभाका २ क्षेत्र दिएर भएपनि प्रतिनिधि सभाको टिकटका लागि माओवादी केन्द्रसँग तालमेल गर्ने सक्ने एकपक्षिय भित्री मनस्थिती बनाएको स्रोतको बताएको छ ।  जुन टोप बहादुर रायमाझीले मान्ने अवस्था छैन ।
दोस्रो संविधानसभा निर्वाचनका लागि सन्धिखर्कमा उम्मेदवारी दर्ता गराउन जादै नेकपा एमालेका डाक्टर दुमन थापा र नरेन्द्र कुमार क्षेत्री, २०७० आश्विन १७, विहीवार । फाइल तस्बिर 
उम्मेद्धारहरुको चर्चा शुरु
प्रदेश तथा प्रतिनिधि सभाको लागि मंसिर २१ गतेको मिति तय भएपछि उम्मेद्धारहरुको हुने भन्ने अर्घाखाँचीमा चर्चा चल्न थालेको छ । प्रदेशको लागि २ र प्रतिनिधि सभाको लागि १ निर्बाचन क्षेत्र निर्धारण भएपछि कांग्रेस, एमाले र माओवादीमा टिकट कस्ले पाउने भन्ने बिषय जिल्लामा बहसको बिषय बनेको छ । 
  चिया पसल, चौतारा, तथा चोकहरुमा फलानो पाटीबाट फलानो उम्मेद्धार हुने होला, फलानोले पायो भने जित्न सक्छ, फलनाको पकड राम्रो छ जस्ता कुराहरु हुन थालेका छन । 
  नेपाली कांग्रेसबाट प्रतिनिधि सभाको लागि पुस्पा भुसाल, मान बहादुर बिक, रेवती प्रसाद भुसाल र डाक्टर रामबहादुर बिसीको नाम चर्चामा छ । भने प्रदेसको लागि निर्बाचन क्षेत्र नम्बर १ मा बिष्णु खनाल (मुस्कान), हरि बहादुर खड्का, कृष्ण प्रसाद खनाल, बाबुराम पौडेल, निर्मला क्षेत्री र अनिता ज्ञवालीको नाम चर्चामा छ । निर्बाचन क्षेत्र नम्वर २ मा इन्द्रमणि पौडेल,  यादव प्रसाद घिमिरे, छविलाल पौडेल, हिम्मत टण्डन र श्यामनाथ कास्यपको नाम चर्चामा छ । 
एमालेबाट केन्द्रको लागि चेतनारायण आचार्य, पिताम्बर भुसाल, नरेन्द्र कुमार क्षेत्री र डा. दुमनसिंह थापाको नाम चर्चामा छ । प्रदेस सभाकोलागि निर्बाचन क्षेत्र नम्वर १ बाट  जनार्दन खनाल, शालिकराम आचार्य, राम बहादुर चौहान, पिताम्बर भुसाल, खुविराम आचार्य, र सरोज भुसालको नाम चर्चामा रहेको छ । निर्बाचन क्षेत्र नम्वर २ मा प्रेमनारायण गैरे, रामजी प्रसाद घिमिरे र  कृष्ण प्रसाद श्रेष्ठको  नाम चर्चामा छ । 
नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभाको लागि टोप बहादुर रायमाझीले पक्कपक्की भएको छ । प्रदेस सभाको निर्बाचन क्षेत्र नम्वर १ को लागि चन्द्र बहादुर खड्काको नाम चर्चामा रहेको छ । 
प्रदेश सभाका लागि दुई वटा निर्वाचन क्षेत्र यसरी विभाजन गरिएको छ  
यस्तै अर्घाखाँची जिल्लामा प्रदेश सभाका लागि दुई वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । जस अनुसार प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विवरण यसरी निर्धारण गरिएको छ:- 
अर्घाखाँची प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा:-
क) सन्धिखर्क नगरपालिकाका ४,५,८,९,१०,११,१२ नं वार्ड
ख) भूमिकास्थान नगरपालिकाका १,२,३,४ नं वार्ड
ग) मालारानी गाउँपालिका
घ) छत्रदेब गाउँपालिका 
अर्घाखाँची प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा:-
क) सन्धिखर्क नगरपालिकाका  १,२,३,६,७ नं वार्ड
ख) भूमिकास्थान नगरपालिकाका ५,६,७,८,९,१०, नं वार्ड
घ) शीतगंगा नगरपालिका
ग) पाणिनी गाउँपालिका

अन्य समाचारहरु