अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको सक्रियतामा सदरमुकाम सन्धिखर्कका औषधी पसल देखि ठुला व्यापारिक पसलहरुमा व्यापक बजार अनुगमन गरिएको छ । नियमित अनुगमन हुँदा स्थानिय साना देखि ठुला व्यापारी त्रासमा रहेका छन् ।
जिल्ला अनुगमन समितिबाट चाडपर्वलाई ध्यानमा राखि उपभोक्ता स्वास्थ्यलाई संबेदनसिल रूपमा हेरेर बजार केन्द्रीकृत अनुगमन गरिरहेको छ ।
मंगलवार सन्धिखर्कका ठुला व्यापारीहरु, खाद्य तथा पेयपदार्थ, स्वास्थ्य क्षेत्र(औषधी पसल), फेन्सी पसलहरू लगायतमा गरिएको अनुगमनमा प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, प्रहरी नायव उपरिक्षक एकनारायण कोईराला, सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्री लगायतको सहभागीता रहेको थियो ।
अनुगमनका क्रममा ५ केजि माछा बिभिन्न अखाद्य पदार्थ लगायतका सामान जफत समेत गरिएकाे छ ।
उता सन्धिखर्क, चुत्राबेशीका व्यापारीहरुले प्रशासनले निरन्तर छापा शैलीमा व्यापक बजार अनुगमन गरेको भन्दै विरोध गरेका छन् । स्थानिय सन्धिखर्कका एक व्यापारीले प्रशासनले अनावश्यक छापा शैलीमा व्यापक बजार अनुगमन गरेको बताए । अनुगमनले निरन्तरता पाएपछि जिल्लाका व्यापारी त्रासमा रहेका देखिन्छन् ।
अर्घाखाँची जिल्लाका सानादेखि ठूला व्यापारीहरुले उपभोक्ताहरुलाई ठगी गरेका छन् । बजारमा नुनदेखि सुन व्यापारीसम्म कमाउ धन्दामा लागेको रहस्य सार्वजनिक भएको छ । किराना तथा फलफूल, तरकारी व्यवसायीहरुले काँटामा फलामको किला बाध्ने र एकैपटक ५० ग्राम देखी एक सय ग्राम सम्म उपभोक्तालाई तौलमा ठगी गरेको भेटिएको छ । जिल्ला प्रशासन कार्यालयले गरेको बजार अनुगमनका क्रममा तौलमा ठगी गरेको पाइएको हो ।
किराना पसलहरुमा मूल्यमा एकरुपता नभएको पाइएको छ । चाउचाउ, चना, चिनी, दाल लगायतका दैनिक उपभोग्य बस्तुमा पसल पिच्छे फरक मूल्यमा बेच्ने गरेको पाइएको छ । जिल्ला सदरमुकामका अधिकांस पसलहरुमा मूल्य सूची समेत नभएको पाइएको छ । उद्योग वाणिज्य संघले मुल्यसूची राख्न पटकपटक ताकेता गरेपनि व्यपारीहरुले अटेरी गरिरहेका छन् । केहि पसलहरुमा मुल्यसूची रहेपनि मूल्य अपडेट गरेका छैनन् । मुल्यसूची राखी मूल्यमा एकरुपता कायम गर्न अनुगमन टोलीले व्यपारीहरुलाई निर्देशन दिएको छ ।