अर्घाखाँचीमा जिल्ला न्यायाधिश पौडेललाई मुख्य निर्वाचन अधिकृत तोकियो


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । निर्वाचन आयोगले दोस्रो चरणमा आगामी मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनाव गराउन अर्घाखाँची जिल्ला अदालत न्यायाधिश रामचन्द्र पौडेललाई अर्घाखाँचीको मुख्य निर्वाचन अधिकृत तोकेको छ । 
आयोगले न्याय सेवा आयोगको सिफारिसमा निर्वाचन अधिकृतमा असोज १९ देखि लागू हुने गरी नियुक्त गरेको हो । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नियुक्त भएका पौडेलले अर्घाखाँची जिल्लाका दुई वटा प्रदेशसभाका निर्वाचन क्षेत्रको समेत निर्वाचन सञ्चालन गर्ने जिम्मेवारी दिइएको आयोगले जनाएको छ ।
अर्घाखाँचीमा एक लाख ३८ हजार ३ सय २७ जना मतदाता
अर्घाखाँची जिल्लामा आगामी निर्वाचनको लागि एक लाख ३८ हजार ३ सय २७ जना मतदाता रहेका छन् ।   जस अनुसार क्षेत्र नं १ मा ३१ हजार २ सय ९४ जना पुरुष र ३३ हजार ९ सय १० जना महिला गरी जम्मा ६५ हजार २ सय ४ जना मतदाता  रहेका छन् । 
यस्तै क्षेत्र नं २ मा ३७ हजार ४ सय ४३ जना महिला र ३५ हजार ६ सय ८० जना पुरुष गरी जम्मा ७३ हजार १ सय २३ जना मतदाता रहेका छन् । 
निर्वाचन क्षेत्र नम्बर १ मा भन्दा क्षेत्र २मा १२ हजार मतदाता बढी रहेका छन् । साथै जिल्लामा स्थानिय तहको निर्वाचनपछि १२ हजार नयाँ मतदाता थपिएका छन् । 
प्रतिनिधिसभाका लागि १ र प्रदेशसभामा दुई वटा निर्वाचन क्षेत्र
अर्घाखाँची जिल्लामा प्रतिनिधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र निर्धारण गरिएको छ ।  यस अघि प्रतिनिधिसभामा २ वटा निर्वाचन क्षेत्र थिए । 
यस्तै अर्घाखाँची जिल्लामा प्रदेशसभाका लागि दुई वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । जस अनुसार प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विवरण यसरी निर्धारण गरिएको छ:- 
अर्घाखाँची प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा:-
क) सन्धिखर्क नगरपालिकाका ४,५,८,९,१०,११,१२ नं वार्ड
ख) भूमिकास्थान नगरपालिकाका १,२,३,४ नं वार्ड
ग) मालारानी गाउँपालिका
घ) छत्रदेब गाउँपालिका 
अर्घाखाँची प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा:-
क) सन्धिखर्क नगरपालिकाका  १,२,३,६,७ नं वार्ड
ख) भूमिकास्थान नगरपालिकाका ५,६,७,८,९,१०, नं वार्ड
घ) शीतगंगा नगरपालिका
ग) पाणिनी गाउँपालिका

अन्य समाचारहरु