अर्घाखाँचीमा गाउँ रित्तिदै जाँदा विधार्थी घटे, ११ बिधालयलाई गाभिने
आश्विन २२ गते, २०७४ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा जिल्ला शिक्षा कार्यालयको आयोजनामा शैक्षिक सुधार, पारदर्शिता तथा जवाफदेहीता बिकासका लागि संचार क्षेत्रसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा गुणस्तरीय शिक्षा र शैक्षिक अवस्था ब्यबस्थित गर्ने काम जिल्ला शिक्षा कार्यालयको मात्र जिम्मेवारी हो भन्ने आम जनमानसमा भ्रम रहेकोले शिक्षामा चाहेजती सुधार गर्न नसकिएको जिल्ला शिक्षा अधिकारी लिल बहादुर राउत क्षेत्रीले गुनासो गरेका थिए ।
उता अर्घाखाँची जिल्लाका ११ बिधालयलाई अन्य बिधालयमा गाभ्न वा समायोजन गर्नुपर्ने जरुरी भएको बताउदै जिल्लाका ३० बिधालयलाई कक्षा घटाउन वा समायोजन गर्न पत्राचार भएको लिल बहादुर राउत क्षेत्रीले बताए ।
अर्घाखाँचीमा वैदेशिक रोजगारबाट आम्दानी हुँदा गाउँ रित्तिदै जाँदा मानिस बसाई सराई गरि शहर तिर झेरेकोले बिगत १८ बर्षमा ७६ हजारबाट ४७ हजारमा झरेको जिल्ला शिक्षा कार्यालयको तथ्यांक रहेको छ ।
कार्यक्रममा जिल्ला शिक्षा कार्यालयबाट सम्पादन हुने कार्यक्रम त्यसको लागि ब्यबस्था गरिएको आ.व.२०७४।०७५ को बार्षिक कार्यक्रम कार्यान्वयन बारेमा जिल्ला शिक्षा अधिकारी लिल बहादुर राउत क्षेत्री र बिधालय निरीक्षक बलराम मिश्रले जानकारी दिएका थिए ।
कार्यक्रममा शिक्षकले पढाउने समयमा राजनिती वा सामाजिक कार्यमा ब्यस्त रहि रहदाँ पढाइमा अवरोध हुन पुगेको सरोकारवालाले बताएका थिए ।