गोपाल प्रसाद भट्टराई
सन्धिखर्क, अर्घाखाँची असौज-३० । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आसन्न निर्बाचनमा अर्घाखाँचीका उम्मेद्धारको टुङ्गो लगाएको जनाएको छ । जस अनुसार अर्घाखाचीबाट प्रतिनिधि सभामा शेरबहादुर वि.सी., अर्घाखाची प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा का. सागर के.सी.,अर्घाखाची प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा झविलाल थापालाई उम्मेद्धार छनोट गरेको छ ।
नेपाली कांग्रेस र पार्टी सभापति शेरबहादुर देउवाले अपनाएका तत्कालिन नीति र कार्यशैली गणतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षता र संविधान रक्षाको दृष्टिले गम्भीर रुपले खतरनाक रहेको भन्दै राष्ट्रिय जनमोर्चाले आगामी निर्बाचनमा उसंग तालमेल हुन नसक्ने जनाएको छ ।
राष्ट्रिय जनमोर्चाले आज एक प्रेस बक्तब्य जारी गर्दै तात्कालिक राजा ज्ञानेन्द्रको प्रतिगामी कदमको लागि कांग्रेस सभापति देउवा निमित्त भएको र प्रतिगमन विरोधी आन्दोलनको बीचैमा राजाद्वारा गठित सरकारको नेतृत्व गर्न समेत पुगेको आरोप लगाउंदै कांग्रेससंग चुनाबी तालमेल नगर्ने स्पष्ट पारेको हो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के.सी.द्धारा जारी बिज्ञप्ती मार्फत कांग्रेसले भारतको चाहना अनुसार नयाँ संविधानलाई संशोधन गर्न ठूलो प्रयत्न गरेको समेत आरोप लगाउंदै आगमी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा एमाले सहितको गठबन्धनसग चुनावी तालमेललाइ जोड दिने बताइएको छ ।
बांकी रहेका जिल्लाहरुमा अब केहिदिनमै उम्मेद्धारहरुको टुङ्गो लगाउने राष्ट्रिय जनमोर्चाले जनाएको छ ।