बेपत्ता चन्द्र श्रेष्ठ र भाई राजकुमार श्रेष्ठ (दाँया) । तस्बिर: फेसबूकबाट
प्रेम खड्का
चितवन (अर्घाखाँची डट्कम)। तनहुँको देबघाट गाउँपालिका-५ बेनीसंगमस्थित काली र त्रिशुली नदी मिसिएको ठाउँ देवघाटमा बुवाको श्राद्धका लागि नुहाउने क्रममा नारायणी नदीले बगाएर आज दिउँसो अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ का दुई दाजुभाइ बेपत्ता भएका छन् ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ का ३८ वर्षीय चन्द्र श्रेष्ठ र २८ वर्षीय भाई राजकुमार श्रेष्ठ बिहीबार नदीमा डुबेर बेपत्ता भएका हुन् । बेपत्ता मध्ये चन्द्रमान श्रेष्ठ अर्घाखाँचीडट्कम प्रिन्ट संस्करणका डिजाइनर तथा प्रतिनिधि हुन्। राजकुमार श्रेष्ठ हाल रुपन्देहीको बुटवल उप-महानगरपालिका-१५ मा (लबकुश होटेल) व्यवसाय गर्दै आएका थिए ।
एकै परिबारका ५ भाई सरात गर्न भनी देबघाट गएका थिए । उनीहरू दिउँसो १ बजे श्राद्ध गर्न पूर्व देवघाटतर्फको नदीमा नुहाउने क्रममा बेपत्ता भएको हुन् । साथै सँगै गएका अन्य भाईहरु भने शकुशल रहेका छन् ।
चन्द्रमान श्रेष्ठ नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँची की साधारण सदस्य,संचारकर्मी तथा सामुदायिक रेडियो सुर्योदय एफ.एम.की समाचार प्रमुख अम्विका श्रेष्ठकाका श्रीमान हुन् । अम्विका आज दिउँसो घटनास्थल गएकी छिन् । यसैक्रममा अर्घाखाँचीडट्कमले श्रेष्ठ दाजुभाईको घटनालाई लिएर दुःख व्यक्त गरेको छ । डट्कमका प्रमुख मेहर सिंह के.सीले एक विज्ञप्ति जारी गरि दुःख व्यक्त गरेका छन् ।
खोजी कार्य स्थागित
उता ईलाका प्रहरी कार्यालय देबघाटबाट खटेको प्रहरी टिमले रातको समय भन्दै आजका लागि खोजी कार्य स्थागित गरेको छ । भोली बिहान पुन: खोजी कार्यलाई निरन्तरता दिने प्रहरी बताएको छ ।
साथै घटनाको यस सम्बन्धमा थप अनुसन्धान समेत भइरहेको प्रहरीले बताएको छ ।
सन्धिखर्क शोकमा
जिल्लाको सदरमुकाम सन्धिखर्क दुई दाजुभाइ बेपत्ता भएको खबरले शोकमा डुबेको छ । तिहारमा आयोजना गरिएका विभिन्न संघ- संस्थाका देउसी भैलो कार्यक्रम एकाएक स्थगित गरिएका छन् ।
अर्घाखाँचीमा चन्द्रमान श्रेष्ठ सामाजिक कार्य, इमान्दारी र युवा पुस्तामा परिचित थिए । उनिहरुको बेपत्ता भएको खबर सामाजिक सन्जालमा अर्घाखाँचीबासीले दु:ख व्यक्त गरिरहेका छन् ।