सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । नेपालीहरूको मौलिक संवत नेपाल संवत ११३८ को अवसरमा नेवा खल अर्घाखाँचीले सन्धिखर्कमा र्याली निकालेको छ। दिपावली अन्तरगतको नेवारी समुदायमा प्रचलित म्ह पूजाको दिनबाट नयाँ वर्ष प्रारम्भ हुने हुँदा आज दिन हरेक वर्ष जस्तै यस वर्ष पनि सन्धिखर्क लगायत जिल्लाभर र्यालीमा निकालिएको हो।
र्यालीमा विभिन्न जातजातीका झाँकी सहित सन्धिखर्क नगर परिक्रमा गरिएको थियो। र्यालीमा नेवारी संस्कृतिमा आधारित विभिन्न नृत्य, बाजा, तथा झाँकीको प्रदर्शन गरेका थिए।
जिल्लाका ढिभर्ना, वाङ्ला, नुवाकोट लगायतमा पनि झाँकी सहित याली निकालिएको थियो । बिभिन्न ठाउँबाट आएको र्याली सन्धिखर्कमा पुगेर शुभकामना सभामा परिणत भएको थियो।
नेपालको मौलिक सम्बतका रूपमा रहेको नेपाल संवत राष्ट्रिय विभूति शंखधर साख्वाले चलाएका हुन्। साख्वाले तत्कालीन नेपाल भनेर चिनिने काठमाडौं, ललितपुर र भक्तपुरका जनताको ऋण तिरेर नेपाल संवत चलाएका हुन्। सरकारले नेपाल सम्बतका प्रवर्द्धक साख्वालाई विक्रम संवत २०५५ सालमा राष्ट्रिय विभूति घोषणा गरेको थियो ।