प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा आगामी मंसिर १० र मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरी छनोटको प्रक्रिया अन्तर्गत लिखित परिक्षा सम्पन्न भएको छ । यस अगाडि स्वास्थ्य तथा शारिरिक परिक्षण एको थियो ।
म्यादी प्रहरीको लागि १५८८जनाले आवेदन दिएका दिएका मध्ये सन्धिखर्कको टुँडिखेलमा सम्पन्न लिखित परिक्षामा १०६३ जना सहभागी भएका छन् । जसमा महिला २४५ पुरुष ८१८ रहेका छन् । अन्य ५२५ शारिरिक जाच तथा दौडमा फालिएका छन ।
लिखित परिक्षाको नतिजा प्रकाशन भएपछि मौखिक परिक्षा गराईने छ । ४ दिनको प्रक्रिया पश्चात म्यादी प्रहरी छनौंट हुनेछन् । यस्तै म्यादी परिक्षामा मर्यादा बिपरित कार्य गर्ने एक परिक्षार्थी निस्कासित भएको प्रहरीले जनाएको छ ।
सरकारले म्यादी प्रहरीलाई प्रहरी जवानसरह मासिक १७ हजार दुई सय ३० रुपैयाँका दरले ५५ दिनको पारिश्रमिक, रासन र स्थानीय भत्ता दिने भएको छ । यस्तै, निर्वाचनको वेला सात दिनका लागि दैनिक पाँच सय रुपैयाँ विशेष भत्ता र खानारखाजा खर्च उपलब्ध गराउने भएको छ । निर्वाचनका क्रममा कुनै म्यादी प्रहरी घाइते भएमा सरकारले उपचारका लागि नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक कार्यविधि २०६८ अनुसार बढीमा एक लाख ५० हजार रुपैयाँसम्मको उपचार खर्च दिने सरकारको निर्णय छ ।
यस्तै, निर्वाचनमा खटिनेक्रममा कुनै म्यादी प्रहरीको मृत्यु भएमा निजको आश्रित परिवारलाई १५ लाख रुपैयाँसम्म आर्थिक सहायता उपलब्ध गराइनेछ । सरकारले हरेक म्यादी प्रहरीलाई पोसाक भत्ताको रूपमा चार हजार र निर्वाचनमा खटिने ठाउँमा जाने र फर्कने बाटो खर्चको रूपमा थप एक हजार रुपैयाँ बाटोखर्चसमेत दिने पनि भएको छ ।
उता सरकारले ५५ दिनका लागि ९८ हजार दुई सय ६८ म्यादी प्रहरी भर्ना गर्ने भएको छ ।