अर्घा भगवती विमानस्थलको शिलान्यास भएको १६ महिना बित्दा पनि काम शुरु भएन


प्रेम आचार्य 
अर्घा, अर्घाखाँची, कात्तिक १३ । अर्घाखाँचीको सन्धिखर्कमा निर्माण हुने अर्घा भगवती  विमानस्थलको शिलान्यास भएको १६ महिना  बितिसकेको छ । तर अहिलेसम्म पनि निर्माणको काम सुरु भएको छैन ।
 
सन्धिखर्क नगरपालिका–१३ धरम्पानीको शिखरबार्नीमा निर्माण हुने भनिएको विमान स्थलको २०७३ सालको असार १३ गते तत्कालीन नेपाल सरकारका उपप्रधान तथा उर्जामन्त्री टोप बहादुर रायमाझीले शिलान्यास गर्नुभएको थियो । 
तर अहिलेसम्म विमानस्थल निर्माणको काम शुरु नै भएको छैन । विमानस्थल बनाउने त परैको कुरा हो त्यस स्थानमा भएका रुखबिरुवा फाँड्ने काम पनि अझै सुरु भएको छैन । 
विमानस्थल बन्छ र छिटो छरितो यात्रा गर्न पाइएला भनेर आश गरेर बसेका अर्घाखाँचीबासी अब विमानस्थल नबन्ने त हैन भनेर चिन्ता व्यक्त गर्न थालेका छन् । 
जिल्लाबासीहरु अहिले सन्धिखर्कबाट रुपन्देहीको भैरहवामा गएर हवाई यात्रा गरिरहेका छन् । 
विमानस्थल क्षेत्रमा भएका रुखहरुको फँडानीको लागि टेण्डर भैसकेको र त्यो फाइल नागरिक उड्यन प्राधिकरणमा पठाएको पनि एक महिना बितिसकेको छ । तर त्यसको बारेमा अन्य जानकारी आएको छैन जिल्ला वन कार्यलयका प्रमुख दीपक ज्ञवालीले बताउनुभयो । 
शिलान्यास गर्दै उपप्रधानमन्त्री रायमाझीले आफ्नै पहलमा विमानस्थल निर्माणको कामले थालनी भएको बताउनुभएको थियो । उहाँले चार वर्षदेखिको मेहेनतले सार्थकता पाएको भन्दै सबैको सहयोगबाट छिट्टै विमानस्थल निर्माण गर्नुपर्ने बताउनुभएको थियो । 

अर्घा भगवती विमानस्थलको उपप्रधानमन्त्री टोप बहादुर रायमाझीद्वारा शिलान्यास ( भिडियो – फोटो सहित )

 

अन्य समाचारहरु