अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । आगामी मंसिर २१ गते हुन गईरहेको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका लागि भोली कात्तिक १६ गते बिहीवार मनोनयन दर्ता हुने भएको छ ।
यस्तै चुनावका लागि मनोनयन दर्ता गर्न अर्घाखाँची जिल्लामा दलबिच समय बाँडिएको छ । प्रतिनिधी र प्रदेश सभाको चुनावका लागि बिहीवार हुने मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दलको सर्वदलिय बैठक बसी समय विभाजन गरेको हो ।
मनोनयन दर्ताको समय
अर्घाखाँचीमा मनोनयन दर्ताको लागि विवेकशील साझा पार्टी, परिवार दल र स्वतन्त्र बिहान १० बजेदेखि ११ बजेसम्म, राष्ट्रिय प्रजातन्त्र पार्टी ११ बजेदेखि ११:30 बजेसम्म, नेपाली कांग्रेस ११ बजेदेखि १२:३० बजेसम्म, राष्ट्रिय जनमोर्चा १२:३० बजेदेखि १:३० बजेसम्म, वाम गठबन्धन नेकपा एमाले, माओवादी केन्द्र १:३० बजेदेखि २:३० बजेसम्म, नयाँ शक्ती पार्टी नेपाल २:३० बजेदेखि ३:३० बजेसम्म र स्वतन्त्र र छुटेका दललाई ३:३० बजेदेखि ५:०० बजेसम्मको समय छुट्याइएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सम्पन्न बैठकमा मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेल, प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, प्रहरी नायव उपरिक्षक एकनारायण कोईराला, कांग्रेसका जिल्ला सभापती विष्णु मुस्कान, एमालेका जिल्ला उपाध्यक्ष जिवनारायण कोईराला, राष्ट्रिय जनमोर्चाका कमल घिमिरे, माओवादी केन्द्रका छमकुमारी खनाल लगायतको उपस्थित रहेको थियो ।
निर्बाचन आयोगले भोली बिहान १० बजे देखि साँझ ५ बजे सम्म मनोनयन दर्ताका लागी समय तोकेको छ ।
यस्तै मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्घाखाँचीले निर्वाचन कार्यतालिका सार्वजनिक गरे अनुसार कात्तिक १६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता, १७ गते उम्मेदवारको विरोधमा उजुरी, १८ गते उजुरीउपर जाँच र उम्मेदवारको नामावली प्रकाशन, १९ गते नाम फिर्ता तथा उमेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदान गरिने छ ।
अर्घाखाँचीमा प्रतिनिधिसभा सदस्यका लागि एक र प्रदेशसभाका लागि दुई क्षेत्र निर्धारण गरिएको छ । अर्घाखाँचीमा दोस्रो चरणमा आगामी मंसिर २१ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ ।
मतदाता संख्या १,३८,३२७ जना
अर्घाखाँची जिल्लामा प्रतिनिधि सभा निर्वाचनका लागी एक लाख ३८ हजार ३ सय २७ जनाले मतदान गर्न पाउँने भएका छन् । एउटा मात्र प्रतिनिधी सभा र दुई वटा प्रदेश सभा रहेको अर्घाखाँचीमा प्रदेश सभा निर्वाचन क्षेत्र नं १ मा ३१ हजार २ सय ९४ जना पुरुष र ३३ हजार ९ सय १० जना महिला गरी जम्मा ६५ हजार २ सय ४ जनाले निर्वाचन क्षेत्र नम्बर एकमा मतदान गर्न पाउँने छन् ।
प्रदेश सभा निर्वाचन क्षेत्र नं २ मा ३७ हजार ४ सय ४३ जना महिला र ३५ हजार ६ सयँ ८० जना पुरुष गरी जम्मा ७३ हजार १ सय २३ जना मतदाता रहेका छन् । प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर एकमा भन्दा दुईमा १२ हजार मतदाता बढी रहेका छन् । जिल्लामा स्थानिय तहको निर्वाचन पछि मतदाता बाहृ हजार नयाँ मतदाता थपिएको निर्वाचन कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।
जिल्लामा निर्वाचन क्षेत्र निर्धारण
अर्घाखाँची जिल्लामा प्रतिनिधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । अर्घाखाँची जिल्लामा प्रदेशसभाका लागि दुई वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । जस अनुसार प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विवरण यसरी निर्धारण गरिएको छ:-
अर्घाखाँची प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा:-
क) सन्धिखर्क नगरपालिकाका ४,५,८,९,१०,११,१२ नं वार्ड
ख) भूमिकास्थान नगरपालिकाका १,२,३,४ नं वार्ड
ग) मालारानी गाउँपालिका
घ) छत्रदेब गाउँपालिका
अर्घाखाँची प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा:-
क) सन्धिखर्क नगरपालिकाका १,२,३,६,७ नं वार्ड
ख) भूमिकास्थान नगरपालिकाका ५,६,७,८,९,१०, नं वार्ड
घ) शीतगंगा नगरपालिका
ग) पाणिनी गाउँपालिका