एमाले र माओवादी केन्द्र अर्घाखाँची – काठमाडौं सम्पर्कमञ्को संयुक्त बाम भेला सम्पन्न, पाँच वर्ष भित्रमा अर्घाखाँचीका ग्रामिण सडक कालोपत्रे गरिछाड्ने टोपबहादुरको प्रतिबद्धता (तस्बिर सहित)

( पहिलो प्रकासित मिती: २०७४ कार्त्तिक १९, आइतवार)

हरिभक्त आचार्य
काठमाडौं  (अर्घाखाँचीडट्कम) । नेकपा एमाले र माओवादी केन्द्र अर्घाखाँची – काठमाडौं सम्पर्कमञ्को अायोजनामा संयुक्त बाम भेला काठमाडौंमा सम्पन्न भएको छ ।
माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले पाँच वर्ष भित्रमा अर्घाखाँचीका साविकका ४२ वटै गाविसमा पुग्ने मोटरबाटो कालोपत्रे गरिछाड्ने प्रतिबद्धता जाहेर गरेका छन् । उनी अर्घाखाँचीबाट वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार हुन् ।
नेकपा एमाले अर्घाखाँची-काठमाडौं सम्पर्क मञ्च र नेकपा माओवादी केन्द्र अर्घाखाँची-काठमाडौं संघिय जनसम्पर्क मञ्चले आइतबार साँझ राजधानीमा आयोजना गरेको संयुक्त वाम भेलामा बोल्दै नेता रायमाझीले उक्त कुरा बताएका हुन् ।
‘जसरी अर्घाखाँचीका तत्कालिन ४२ वटै गाविसलाई सडक सञ्जालले जोडिएको थियो ठिक त्यसै गरी ५ वर्ष भित्रमा ४२ वटै गाविस छुने सडक कालोपत्रे गरि नयाँ रेकर्ड राखिने’ उनले बताए । सबै गाविसमा सडक पुग्ने देशकै पहिलो जिल्ला अर्घाखाँची भएको रायमाझीले बताए । ‘जिल्लाका सबै वार्डमा  सडक कालोपत्रे हुने पहिलो जिल्ला पनि अर्घाखाँची नै बन्ने छ’ उनले उद्घोष गरे ।

अर्घाखाँचीलाई देशकै नमुना जिल्ला बनाइने

नेता रायमाझीले आफूले निर्वाचन जितेर आएपछि अर्घाखाँचीलाई देशकै नमुना जिल्ला बनाउने प्रतिबद्धता जाहेर गरे । विकासको नमुना हेर्न कहाँ जाने ? भनेर कसैले प्रश्न गरेमा त्यसको उत्तर अर्घाखाँची भन्ने हिसाबले काम गरिने बताए । समग्र भित्र विशिष्टिकरण गरेर जिल्लाको विकास गर्नुपर्नेमा उनले जोड दिए ।
५ वर्ष भित्रमा जिल्लाका सबै वडामा खानेपानीको श्रोत परिचालन गरी घर-घरमा पानीका धारा जडान गरिने उनले बताए । काठका पोल विस्थापित गरिने र जिल्लालाई लोडसेडिङ मुक्त गरिने उनले बाचा गरे । ‘जिल्लामा स्वास्थ्य, शिक्षा र रोजगारका विषयलाई प्रमुख प्राथमिकता दिएर काम गर्ने छु’ उनले भने ।
केपी ओली र प्रचण्ड साझा नेता
एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाम गठबन्धनका साझा नेता भएको उनले बताए । ‘बाम गठबन्धन गर्ने कुरा २०६४ बाट सुरु भएको हो । त्यतिबेला बाम गठबन्धन गर्ने कुरा चलेपनि युद्ध लडेर आएको माओवादी र जनाधार राम्रो भएको एमालेबीच कुरा नमिल्दा हुन सकेन’ उनले स्मरण गर्दै भने ।
बाम तालमेल निकै महत्व र अर्थपूर्ण
अहिले भएको बाम तालमेल स्थानिय निकायको निर्वाचन हुनुभन्दा अघि भएको भए देशै कब्जा हुने उनले बताए । ढिलै भएपनि यो तामेल निकै महत्व र अर्थपूर्ण रहेको उनको ठम्याई छ ।
एमाले र माओवादीबीच मतान्तर नभएका होइनन्, ति मतान्तरलाई एकिकृत गर्न चुनावी तालमेल गर्नुपरेको नेता रायमाझीले स्पष्ट पारे । ‘पौडि खेल्न परेपछि किन खोला, पोखरी वा कुवामा खेल्ने ? रारा तालमै गएर खेल्ने भन्ने ठानेर बाम एकता गरिएको’ उनले बताए ।
चुनाव पछि पार्टी एकता
नेता रायमाझीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पछि एमाले र माओवादीबीच पार्टी एकता हुने ठोकुवा गरे । बाम गठबन्धन चुनावी तालमेलका लागि मात्र नभएर पार्टी एकता गर्नका लागि भएको उनले बताए । गठबन्धनलाई दुइ तिहाइ बहुमत आउने हिसाबले निर्वाचनमा परिचालन हुन उनले कार्यकर्तालाई निर्देशन दिए । निर्वाचन पछि देशमा ठूलो परिवर्तन आउनेमा आफू विश्वस्त रहेको रायमाझीले बताए ।
अहिलेको पिँढी भाग्यमानी 

अहिलेको पिँढी भाग्यमानी भएको उनको ठहर छ  । ‘हाम्रै पालामा राजसंस्था ढल्यो । नयाँ संविधान बन्यो । अब संविधान कार्यान्वयनको अन्तिम चरणमा छ । एक हिसाबले राजनीतिक क्रान्ति सम्पन्न भएको छ । अब आर्थिक समृद्धि हुन बाँकी छ । त्यो पनि हाम्रै पालामा होला जस्तो छ’ उनले भने । आर्थिक समृद्धिका लागि शक्ति चाहिन्छ त्यो शक्ति बाम एकतामा रहेको उनले बताए । एउटै कम्युनिष्ट केन्द्र बनेपछि देश समृद्धिको दिशामा अघि बढ्छ उनले भने ।
अर्घाखाँचीमा रेल छिराउने सपना
नेता रायमाझीले जिल्लामा रेल मार्ग विस्तार गरी रेल गुडाउने आफुको सपना रहेको बताए । चीनले पोखरा हुँदै लुम्बिनीसम्म रेलमार्गले जोड्ने भनेको स्मरण गर्दै उनले भने, ‘अर्घाखाँचीमा पनि पोखरादेखि रेलमार्ग विस्तार गर्न सकिन्छ ।’ 
उनले कल्पना गदै भने, ‘पोखराबाट स्याङजा हुँदै आँधीखोला, त्यहाँबाट रिडि जोड्ने । रिडिबाट गैरीखुट्टा, खरज्याङ हुँदै दुर्गाफाँट भएर जिल्लामा रेलमार्ग विस्तार गर्न सकिन्छ ।’ त्यसका लागि सुरुङमार्ग निर्माण गर्दै अघि पढ्नुपर्छ ।
म जनताको हलि बन्ने छु : चेतनारायण

यसै कार्यक्रममा बोल्दै अर्घाखाँची प्रदेशसभा क्षेत्र नम्बर- १ का एमाले उम्मेदवार चेतनारायण आचार्यले आफूले निर्वाचन जितेपछि जनताको हलि भएर काम गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले आफूलाई मतदान गर्ने मतदाताको शिर झुक्न नदिने गरी काम गरेर देखाउने बाचा गरे ।
निर्वाचन जितेपछि जनताका काम सेवक भएर पुरा गर्ने आचार्यले बताए । ‘अर्घाखाँचीमा कतैबाट पनि कांग्रेसलाई चुनावी दाउ नलाग्ने ठोकुवा गर्दै उनले भने बाम एकताले जिल्लामा निर्वाचनको उत्साह बढेको छ र कांग्रेसीहरु अत्ताल्लिएका छन्’ । आचार्य एमाले जिल्ला अध्यक्ष हुन् ।
अर्घाखाँचीमा बाम गठबन्धनको जित निश्चित : घिमिरे
अर्घाखाँचीको प्रदेशसभा क्षेत्र नम्बर-२ बाट एमाले उम्मेदवार बनेका रामजी घिमिरेले जिल्लामा बाम गठबन्धनको जित निश्चित भएको ठोकुवा गरे । जित निश्चित भएपनि निर्वाचनमा एकजुट भएर लाग्न उनले सम्पूर्ण बाम कार्यकर्तालाई आह्वान गरे । बाम गठबन्धनले देशैभर जितेपछि दिल्लीको आदेश स्विकार गर्नु नपर्ने घिमिरेले बताए । निर्वाचनपछि प्रतिपक्षमा बस्नुपर्ने भएकाले कांग्रेसको निन्द्रा खल्बलिएको उनले आरोप लगाए।

अन्य समाचारहरु