अर्घाखाँचीका संवेदनशील क्षेत्रमा सुरक्षा कडा, सिद्धारा, जलुके, सिमलपानी लगायतका मतदातालाई निर्धक्क मतदान गर्न आउन आयुक्त ईश्वरीप्रसादको आग्रह


घनश्याम पौडेल/हिन्दुखबर
सन्धिखर्क,  अर्घाखाँची १५ मंसिर । निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न राजनीतिक दलका नेताहरूको भूमिका महत्वपुर्ण हुने बताएका छन् । उनले अर्घाखाँची विकट क्षेत्र सिद्धारा, जलुके, सिमलपानी लगाएतका मतदाताहरु निर्धक्क भएर मतदान गर्न आउँनका लागी आग्रह गर्दै संवेदनशील क्षेत्रमा सुरक्षा कडाँ बनाएको बताए ।
उनले जिल्लामा रहेका संवेदन शिल क्षेत्रका मतदाताहरु ढुक्क भएर मतदान गर्न आउँनका लागी आग्रह गर्दै कसैले केही अवरोध गरे मुख्य निर्वाचन कार्यालय, प्रजिअ, प्रनाउ, तथा निर्वाचन आयोगलाई खबर गर्न आग्रह गरे ।
अर्घाखाँचीको सन्धिखर्क जिल्ला प्रशासनमा भएको सरोकारवाला निकायसँग अन्तरक्रिया र छलफलमा आयुक्त पौडेलले निर्वाचनको आचारंसहितको पालना, दलगत सहकार्य, निर्वाचनमैत्री वातावरणका साथै मतदानमा निस्पक्ष, मतदानदेखि मतगणनासम्मको अवधिसम्म शान्तिपूर्ण गतिविधिले निर्वाचनलाई सफल बनाउन सकिने बताएका हुन् ।
आउँदो बिहिबार हुन गैरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीका सन्दर्भमा छलफल गरिएको हो । द्रोसो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनावको तयारी र सुरक्षा अवस्थाको बारेमा क्षेत्रीय सुरक्षा अधिकारीहरुसहित अनुगमनका लागि अर्घाखाँची आएका आयुक्त पौडेलले ढुक्क भएर मतदानको तयारी गर्न आग्रह गरे ।
उनले संविधान नमान्ने पक्षबाट भएका छिटपुट निर्वाचन विरोधी गतिविधिबाट नडराउन आग्रह गरेका थिए । उम्मेदवार र मतदातालाई त्रसित बनाउने गतिविधि गर्नेलाई पक्राउ गरिएको बताउँदै आयुक्त पौडेलले मतदाता र उम्मेदवारको सुरक्षाका लागि राज्य प्रतिबद्ध रहेको बताए । स्वस्थ्य, निष्पक्ष, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनु सबैको दायित्व रहेको पौडेलको भनाई छ । पहिलो चरणमा जाडोका कारण पनी कम मत खसेको बताउँदै अहिले अत्यधिक मत खस्ने बताए ।
क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले स्थानिय तहको निर्वाचनमा भन्दा अहिले बढी सुरक्षा व्यवस्था गरेको र संविधान विरोधी गतिविधी गर्नेलाई निषेध, नियन्त्रण र कडा कार्वाही गर्ने गरी सुरक्षाको टोली लागेको बताए ।
सन्धिखर्क नगरपालिकाका प्रमुख कमल भुसाल, उपप्रमुख ठाकुर विकले निर्वाचन स्वच्छ, शान्तीपुर्ण र भयरहित बनाउँन स्थानिय तह लागेको बताए । भुसालले जिल्लाका विकट बस्तीहरु सिद्धारा, सिमलपानी सुरक्षाको दृष्टिकोणले अत्यन्त संवेदनशिल भएकाले यहाँको सुरक्षा व्यवस्था कडाँ बनाउँन ध्यान दिनुपर्ने बताए ।
कांग्रेसका कृष्ण खनाल, माओवादी केन्द्रका छमकुमारी खनाल, जनमोर्चाका शेरबहादुर विसी, राप्रपाका दिपक कुबँर लगाएतले स्थानिय तहमा भन्दा आचारसंहिताको धेरै पालना भएको बताए, उनीहरुले आफुहरु आचारसंहिता पालना गर्न प्रतिवद्ध रहेको पनी बताएका छन ।