साउदी अरबद्दारा हुथी विद्रोहीबाट मुक्त रहन यमनलाई आग्रह


साउदी अरबले इरानको सहयोग प्राप्त गरी आतङ्क मच्चाइरहेका हुथी विद्रोही लडाकूहरुबाट आफूलाई मुक्तगर्न यमनलाई आग्रह गरेको छ ।
यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहको हत्या हुथी विद्रोहीले गरेपछि पहिलोपटक साउदी अरेबियाले हुथीका विरुद्धमा यो अभिव्यक्ति दिएको हो । तर सालेहको हत्याको बारेमा भने साउदीले कुनै धारणा सार्वजनिक गरेको छैन ।
साउदी अरेबियाको मन्त्रिपरिषदले विज्ञप्ति जारी गरी इरानको सहयोग प्राप्त गरेर हुथीहरुले यमनमा विखण्डनकारी राजनीति गरेकोले उनीहरुबाट यमनलाई मुक्त गर्नुपर्ने बताएको हो ।
यसै हप्तामात्र यमनका पूर्व राष्ट्रपति सालेहको हत्या भएको छ । उनले यमनमा करिब ३३ बर्ष शासन चलाएका थिए । सालेहले सन् २०१४ पछि यमनी सिया हुथी विद्रोहीकै सहयोग लिएका थिए ।
सालेह सोमबार खावलान जिल्लाबाट साउदी अरब नेतृत्वको गठबन्धनको नियन्त्रणमा रहेको यमनको मारिव प्रान्ततर्फ भाग्ने क्रममा मारिएको बताइएको छ ।
पूर्व राष्ट्रपति सालेहले केही दिनमात्र अघि इरानको समर्थनमा रहेका हुथी विद्रोहीसँगको गठबन्धन अन्त्य भएको घोषणा गरेका थिए । तर उनले तिनै विद्रोहीको सहयोगमा यमनको राजधानी सानामा तीन वर्ष जति शासन सम्हालेका थिए । (रासस/एएफपी)