सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा मंसिर २१ र २३ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सदरमुकाम सन्धिखर्कको टुडिखेल स्थित सभाहलमा कडा सुरक्षाका साथ शुरु भएको छ ।
अहिले केही समयमा प्रदेशसभा निर्वाचनको मतगणना शुरु हुँदैछ । प्रतिनिधी सभाका आधा मत गनेर सकिन लाग्दा प्रदेशसभाको मतगणना हुन लागेको हो । प्रदेश सभाको मतगणनाको शुरुवात क्षेत्र नं. १ को चिदिका र २ को अड्गुरीबाट हुने भएको छ ।
प्रतिनिधी सभाको मतगणना हिजो मध्यरात ११:४५ बजे देखि जारी छ । अपरान्ह ५ बजे सम्म टोप बहादुर रायमाझीले राम बहादुर बिसी भन्दा ६,८८९ मतले अग्रता लिएका छन् ।
मत गणना स्थललाई तारले घेरीएको छ, भने राजनैतिक दलका प्रतिनिधीहरुलाई तार बाहिर बाट हेर्ने तथा बस्ने व्यबस्था मिलाईएको छ । उक्त स्थलमा सुरक्षा व्यबस्था कडा पार्दै सीसी क्यामराबाट समेत निगरानी राखिएको छ ।
गत मंसिर २१ गते जिल्लाका ९२ वटा मतदान केन्द्र निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको थियो । तर सन्धिखर्क नगरपालिका वडा नम्बर ५ वाङ्ला मथुरा निम्न माध्यमिक विद्यालय नेटा मतदान स्थलका (क) र (ख) गरी दुईवटा मतदान केन्द्रको स्थगित भएको हुँदा हिजो मंसिर २३ गते शनिबार पुन: निर्वाचन गराइएको थियो ।
अर्घाखाँची जिल्लाका ९३ वटा मतदान केन्द्रमा सम्पन्न निर्वाचनमा कुल मतदाता संख्या १,३८,३२८ (७१,३५० महिला, ६६,९७८ पुरुष) मा ८९,१०६ मत खसेको छ ।