हरिभक्त आचार्य
काठमाडौं । अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं ३ का अध्यक्ष जीवन चौहानको स्वास्थ्य अवस्था स्थिर रहेको छ । भरतपुर मेडिकल कलेजमा उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । न्युरो सर्जन डा. अजित श्रेष्ठको टोलीले उनको उपचार गरिरहेका छन् ।
उनको टाउकोमा गम्भीर चोट लागेको छ । गम्भीर चोट लागेकाले चौहानको टाउकाको अप्रेसन गरिएको छ । ‘अप्रेसन पश्चात उहाँले ५० प्रतिशत स्वासप्रश्वास आफै लिन थाल्नुभएको, चिमोटेको थाहा पाउने हुनुभएको’ डाक्टरको भनाई उद्घृत गर्दै चौहानका जेठान विष्णु बहादुर खनालले बताए ।
गत मंगलबार अर्घाखाँचीबाट बुटवलतर्फ आउँदै गर्दा रुपन्देहीको सैना-मैना नगरपालिकामा पर्ने रानीबगियामा चौहान दुर्घटनामा परेका थिए । मोटरसाइकलमा सवार उनलाई दुधबोक्ने गाडीले ठक्कर दिँदा उनी घाइते भएका हुन् ।
दुर्घटनामा परी घाइते भएका चौहानलाई तत्काल लुम्बिनी अञ्चल अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई भरतपुर मेडिकल कलेजमा भर्ना गरिएको छ ।
बाबुको निधन
छोरा सडक दुर्घटनामा परेको खबर सुन्नासाथ वडा अध्यक्ष चौहानका साबिक खनदह ४ हाल मालारानी गाउँपालिका वडा नं. ३ गँहिली निबासी ७५ वर्षिय बाबु ८० बर्षिय तक बहादुर चौहान अचेत भएका थिए । अचेत भएका बाबुको गएराति १० बजे निधन भएको छ ।