छत्रदेव डिहीका आमाहरूले अचार बनाए, बुटवल काठमाडौँमा सम्बन्धित गाउँलेको व्यापक माग

अर्घाखाँची डटकम सम्बाददाता
छत्रदेव डिही । गत चुनावको छेको पारेर २० मंसिर २०७४ मा छत्रदेव-५ डिहीमा त्यहाँ सक्रिय रहेको आमा समुहले एउटा अटोठ गर्‍यो, सिजन अनुसारका चिजविजको अचार बनाउने । पुष्पा पन्थीको सक्रियता र प्रगतिशिल आमा समुहकी अध्यक्ष चमला पन्थीको अध्यक्षतामा आमा समुह भेला भएको थियो । 
भेलाको छलफलमा, “यदि अचारको उत्पादन हुन्छ, भने त्यसको खपत, बजारमा बस्ने उनीहरुका छोराछोरी नै हुने” समुहको निष्कर्ष थियो । भेलामा आफूले जम्मा गरेको आम्दानीबाटै भएपनि सरसामान किनेर अचारको प्रारम्भिक प्रयोग गर्ने अटोठ आमा समुहले गरेका थिए ।
आँटेपछि साथ दिनेहरू पनि बाटोमा भेटिन्छन् । बोतल र अचार बनाउने मसलाहरूको प्रबन्ध गर्ने आश्वासन भेलामा रहेका तर शहरतिरबाट चुनाबको लागि आएका युवाहरूले गरे ।
उहाँहरूको उत्साहको लागि बुटवलमा एस सिद्धार्थ डिजिटल प्राली चलाइरहेका युवा उद्यमी सिद्यार्थ पन्थीले बोतल र स्टिकरको व्यवस्था गरिदिने बताए  ।
त्यसपछि आमाहरु समुह समुहमा बाँडिएर बयर टिप्न आफ्नो पायक पर्ने बेसी, दामजिमको टारीतिर झरे । विभिन्न मितिमा दुई समुह बनेर उनीहरु बेसीतिर झरेका थिए । उनीहरूले बोरा तथा प्लास्टिकमा वयर बोकेर ल्याए ।
बुटवलबाट प्लास्टिकका बोतल छत्रदेवको डिहीमा भित्रियो । आमाहरुले बयरलाई अचार बनाएर प्याक गरे । “प्रगतिशिल आमा समुह छत्रदेव-५ डिही” लेखिएको स्टिकर पनि टाँसे । त्यहाँ “आत्मनिर्भर समाज हाम्रो अभियान” लेखिएको पनि छ । आत्मनिर्भर त नहोला, तर यो कामले उनीहरूलाई उत्साह चाहिँ दिएको छ । 
दुर्गाप्रसाद पन्थीको सहयोगमा अचार बुटवल पठाइयो । यसलाई सिद्यार्थ पन्थी, बसन्त पन्थी, खेमराज पन्थी लगायतले फेसबुकमार्फत् प्रचार गरे । डिहीका प्रगतिशिल आमा समुहले पठाएको अचार आएको छ भनेपछि शहरमा बसेका तर गाउँटोलका साथीभाईहरूको व्यापक माग भयो । मधुसुधन रायमाझीले लेख्नुभएको छ, “लौन त्यो चिज कहाँ पाइन्छ बताउनुस् न !”  त्यसैगरी विकास पन्थीले “फोन उठाउ न बसन्त भाई” भनेर लेख्नुभएको छ । यसलाई बुटवल शंकरनगरमा यही सनिबार आयोजना हुने डिहीबासीको बनभोजमा एक समारोहका बीच विक्री गरिने बताइएको छ । 
यसरी बनाएको अचारले खाली अचारको मात्र काम नगरी आमा समुहको आम्दानीको बाटो, समुहमा जम्मा भई काम गर्ने अभ्यास हुने आमा समुहका सदस्यले बताएका छन् । त्यति मात्र नभई यसले शहर र गाउँलाई जोड्ने पुलको पनि काम गरेको छ । डिहीको उदाहरणलाई लिएर अर्घाखाँचीको विभिन्न भेगमा यस्तो काम गर्न सकिन्छ । त्यसको लागि शहर बजारमा बसेका युवाहरूले गाउँमा रहेका आफ्ना आमाहरूलाई उत्साहित बनाउनु आवश्यक देखिन्छ ।