कृष्ण खनाल
बुटवल, पुस २९ । पूर्व उपप्रधान तथा उर्जामन्त्री टोप बहादुर रायमाझीले अवको सरकारले देशमै रोजगारीको व्यवस्था गर्ने बताएका छन् । छत्रदेव अर्घाखाँची संयुक्त बाम गठबन्धन रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको सम्मान कार्यक्रममा उनले तीनै तहको निर्वाचन सकिएकाले युवालाई अब स्वदेशमै रोजगार दिएर देशलाई आर्थिक सम्बृद्धिको बाटो तर्फ लैजानुपर्ने बताए ।
माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा अर्घाखाँची प्रतिनिधिसभा सदस्य समेत रहेका नेता रायमाझीले अर्घाखाँचीलाई विकास निर्माणको नमुना जिल्लाका रुपमा परिचित बनाउन जिल्लाका सबै दलसँग समन्वय गरेर काम गरिरहेको उल्लेख गरे । उनले निर्वाचनबाट जनताले बाम गठबन्धनलाई बहुमत दिएकाले अव बन्ने सरकारले युवालाई स्थानीय स्तरमै रोजगारीको अवसर प्रदान गर्ने बताए । देश विकासमा सबै पार्टी र नागरिक मिलेर अघि बढ्नु पर्ने उनको भनाई छ ।
अर्घाखाँची प्रदेशसभा १ का सदस्य चेतनारायण आचार्यले अर्घाखाँचीलाई कृषि, उद्यम, पर्यटन र जलविद्युतको रुपमा नमूना जिल्ला बनाउने गरी विकास निर्माणको खाँचो औंल्याउँदै यसका लागि आफू जनताको सेवक बनेर काम गर्ने बताए ।
उनले युवालाई रोजगारी प्रदान गर्न नसके युवाहरुको विदेश पलायन नरोकिने र सिंगो अर्घाखाँची जिल्ला युवाबिहीन हुने बताउँदै युवालाई गाउँमै रोजगारी सिर्जना गर्नु अपरिहार्य रहेको बताए ।
अर्का प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरेले निर्वाचनका बेला आफूहरुले जारी गरेका घोषणापत्रलाई अव कार्यान्वयन गर्नुको विकल्प नभएको बताउँदै अव बन्ने प्रदेश र केन्द्र सरकारको काम उत्पादन वृद्धि र रोजगारी सिर्जनातर्फ केन्द्रित हुनुपर्ने बताए ।
त्यसअवसरमा प्रदेशसभाका समानुपातिक सदस्य विमला पन्थी, छत्रदेव अर्घाखाँची संयुक्त बाम गठबन्धनका ध्रुव सापकोटा, पुरुषोत्तम अर्याल, दिपक पन्थी, कुलचन्द्र पाण्डे, धवलबहादुर बिसी, शोभाखर पाण्डे, दिनेश फुल्लेल, रुपलाल पन्थी, यमलाल पौडेल लगायतले बोलेका थिए ।