अर्घाखाँचीमा शिक्षकको हाजिरी विद्यार्थीले गर्न थाले


प्रेमनारायण आचार्य
अर्घाखाँची, माघ २५ ।  अर्घाखाँचीमा विद्यार्थीले शिक्षकको हाजिरी  गर्न थालेपछि शिक्षकहरु समयमा विद्यालय जान थालेका छन् । 
शिक्षकहरु १० बजे भन्दा केही ढिला र ४ बजेभन्दा अघि हिँड्ने गुनासो आएपछि जिल्ला शिक्षा कार्यालयले विद्यार्थीले शिक्षकको हाजिरी गर्ने नियम बनाएको हो । शिक्षकको हाजिरी विद्यार्थीले गर्न थालेपछि शिक्षकहरु समयमा विद्यालय जाने र ४ बजे मात्र विद्यालय छाड्ने गरेको जिल्ला शिक्षा कार्यालयका जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउतले जानकारी दिनुभयो । 
बिहीबार जिल्ला शिक्षा कार्यलय र जिल्ला युवा समितिको कार्यलयले संयुक्त रुपमा गरेको  पत्रकार सम्मेलनमा जिल्लाका ६० वटा विद्यालयमा यो अभियान चलेको र यो अभियानलाई अर्को वर्षदेखि सबै विद्यालयमा सञ्चालन गरिने जिल्ला शिक्षा अधिकारी राउतको  भनाई छ । 
 
शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि सबै एक भएर लाग्नु पर्ने सन्धिखर्क नगरपालिकाका शिक्षा संयोजक बलराम मिश्रले जानकारी दिनुभयो । 
यसैबीच जिल्ला युवा समितिको कार्यलयले युवाका सवालहरु मिडियामा उठान गर्न आह्वान गरेको छ । युवाहरुका साझा मुद्धा मिडियामा उठान गरेपछि मात्र निकास हुने भएकाले युवाहरुका मुद्धा उठान गर्न जिल्ला युवा समितिका अध्यक्ष लिलबहादुर विकले बताउनुभयो ।