अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । देश संघीयतामा गए संगै सक्रिय भएका स्थानिय तह र त्यहाँ वरपरको चहल पहल बढेको छ । नयाँ-नयाँ मान्छेको ओहोर दोहोर अनि जमघटले गाउँहरुमा रौनक थपिएको छ । स्थानीय तहमा नै गाउँपालिकाको कार्यालयहरु संचालन भएसँगै अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा रहेका सबै सरकारी कार्यालयका कर्मचारीहरु स्थानीय तहमा नै समायोजन भएपछि विगत बर्षहरुमा भएको सदरमुकामको चहल पहल यतिखेर गाउँमा सरेको छ । गाउँमा सबै सरकारी सेवासुविधा पाउने भएपछि यतिखेर ठूलै भिडभाड बढेको छ ।
स्थानीय तहमा नै कार्यालय स्थापना भएपछि सदरमुकाम सन्धिखर्क आउने सेवाग्राहीको संख्यामा ५० प्रतिशत भन्दा बढी घटेको स्थानीय जानकारहरु बताउँछन् । जिल्लाका छत्रदेव, पाणिनी, मालारानी गरी ३ वटा गाउँपालिका र सन्धिखर्क, शीतगंगा, भूमिकास्थान गरी ३ वटा नगरपालिका रहेको अर्घाखाँचीमा यतिखेर एउटा नगरपालिका मात्रै सदरमुकाममा रहेको छ । अन्य ५ वटा स्थानिय तहका कार्यालयहरु सदरमुकाम बाहिर नै रहेकाले सेवाग्राहीको चाप सदरमुकाम नभई गाउँ केन्द्रित हुन पुगेको हो ।
यसअघि जिल्ला सदरमुकाममा भएको अधिकासं सरकारी कार्यालयका कर्मचारीहरु स्थानीय तहमा खटिएपछि सदरमुकाममा रहेका सरकारी कार्यालयहरु पनि सुनसान रहेका छन् । अहिले जिल्ला कृषि विकास कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला प्राविधिक कार्यालय, जिल्ला शिक्षा कार्यालय, जिल्ला पशुसेवा कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला वन कार्यालय, महिला तथा बालबालीका कार्यालय लगाएत दुई दर्जन भन्दा वढी कार्यालयहरु सुनसान रहेका छन् । ब्यापार ब्यबसाय घट्दो क्रममा छ भने होटल ब्यबसायीहरु सकसमा परेका छन ।
पहिले बिभिन्न सरकारी काम काजले गाउँगाउँबाट आउनेहरुले किनमेल गर्थे । मान्छेको भिडभाड हुन्थ्यो । अहिले त सुनसान छ । गाउँमै अफिस मात्रै होईन सडक पनि पुगेका छन । सन्धिखर्कमा पाईने सबै चिज गाउँ- गाउँमा पाईन थाल्यो ।
गाउँपालिकाको कार्यालय बसेको स्थान वरपर अहिले धेरै पसल तथा होटलहरु समेत संचालन गर्ने व्यक्तिहरु बढेका छन् । पहिला चिया तथा नास्ता गर्न समस्या हुने ती स्थानमा अहिले ठूलाठूला होटल तथा पसलहरु संचालन भएको देखिन्छ । गाउँ चम्केका छन तर सन्धिखर्क, चुत्राबेशी बजार सुनसान हुन थाल्यो। किराना पसल, होटल ब्यबसायी लगायतलाई मार परेको छ । केहि किराना पसल, होटेलहरु त बन्द नै भईसकेका छन् । पहिला पहिला यो सिजनमा भ्याई नभ्याई हुन्थ्यो । अहिले त सुनसान छ । सन्धिखर्क, चुत्राबेशीमा धेरैका सटर बन्द भईसकेका छन् ।
होटल र किराना पसल मात्र होईन सबै प्रकारका ब्यापार ब्यबसाय खस्कदै गएको छ । ब्यापार घट्ने त सामान्य नै भयो ।
अधिकार सहितको स्थानिय तह भए संगै सबै सरकारी सुबिधा गाउँ पुगे सँगै अहिले ब्यबसायीलाई आहत भए पनि जनतालाई भने राहत पुगेको छ । सानो सानो कामले पनि सदरमुकाम धाउनु पर्नेहरु घरगाउँमै सेवा पाए पछि मख्ख छन् । सदरमुकामका घरहरु सुनसान बनेसंगै स्थानिय तह केन्द्र बरपरका घरहरु भरिभराउ छन् । पक्कि घरहरु नभएपनि कच्चि घर रंग रोगन गरेर ब्यबसायी मैत्रि बनाईदै छन् । घर जग्गाको भाउ आकासिएको छ । दिनभरी ग्राहकको प्रतिक्षामा बस्नेहरुलाई भ्याई नभ्याई छ । रिटेलिङका गाडिहरु दैनिक ओहोर दोहोमा ब्यस्त हुन्छन् । गाउँमा तराईकै भए पनि तरकारी र फलफुल देख्न पाईन थालेको छ ।