डेढ वर्षमा एक सय ४० किलो तौल भएको बोयर जातको बोका देखाउँदै अर्घाखाँची डिभर्नाका गोपाल बस्याल ।
वीरेन्द्र केसी कान्तिपुर
डिभर्ना, अर्घाखाँची । डिभर्नाकी गीता भुसालको घरमा पुस्तौंदेखि बाख्रापालन टुटेको छैन । खसीबोका बेचेर आम्दानी लिन होइन, खेतबारीमा मलका लागि गोठभरि बाख्रा पालिन्थ्यो ।
गाई-भैंसीको मलभन्दा बाख्राको मलले दोब्बर अन्न उब्जनी हुन्छ । गीता घरमा बुहारी भएर आएको केही वर्षसम्म मलकै लागि बाख्रा पालियो ।
बाख्रा पाल्नु उनीहरूका लागि नौलो होइन तर उनकै पालामा पाल्ने तरिका बदलियो । त्यसले घरखर्च, लत्ताकपडा, छोराछोरीको पढाइ खर्चदेखि बैंक बचत गर्ने प्रमुख आम्दानी स्रोत बाख्रापालन बन्यो । वर्ष दिनअघिसम्म त्यति आम्दानी थिएन । स्थानीय जातको बाख्रामा बोयर जातको बोकाबाट जन्मने पाठापाठी जन्मँदै छ/सात किलोका हुन्छन् । ‘पहिले खसीबोका बेचेर वर्षमा बीस/तीस हजार मात्रै आम्दानी हुन्थ्यो,’ उनले भनिन्, ‘दस महिनामा बोयरबाट जन्मेका पाँचवटा बोका बेच्दा एक लाख ९६ हजार सात सय रुपैयाँ कमाइ भयो । अब मेरो मुख्य पेसा नै यही हो ।’ यो उनको जेठदेखि फागुनसम्मको आम्दानी हो । अहिले माउ बाख्रा दुई, पाठा दुई र पाठी दुईवटा छन् ।
स्थानीय जातको खसीबोका एक वर्ष पाल्दा बीस/पच्चीस किलोका हुन्थे, बोयरबाट जन्मेका त छ महिना पाल्दै ४०/४५ किलोका हुने उनले बताइन् । ‘छोटो अवधिमा यति धेरै तौल हुँदोरहेछ,’ उनले भनिन्, ‘म त अचम्मै परेकी छु ।’ व्यावसायिक रूपमा बाख्रा पाल्ने उनको सोच छ । श्रीमान् भारतमा नोकरी गर्नुहुन्छ, छिटै घर बोलाउँछु र यही पेसामा लाग्छौं, उनले भनिन् । डिभर्नाकै रोमाखर नेपालीले छ महिना पालेका तीन बोकाबाट एक लाख ११ हजार ५ सय रुपैयाँ लिए । ‘खसीबोका त पहिले पनि पालिन्थ्यो,’ उनले भने, ‘यति धेरै पैसा कमाउन त तीन/चार वर्ष लाग्थ्यो । अहिले यो ११ महिनाको आम्दानी हो ।’ चार बाख्राका चार पाठी र चार पाठा छन् । बोयर बोका अस्ट्रियाबाट ल्याएर तनहुँको बन्दीपुरमा परीक्षणपछि यहाँ ल्याइएको हो । डिभर्नामा राम्रो फस्टाएको छ ।
यसभन्दा अघि खरी, जमुनापारीसहित उन्नत जातका बोका र बाख्रा भित्रिएका थिए । त्यति फस्टाएनन् । बोयरले डाले, भुइँ घाँस, अन्नपानी जे दिएपछि खान्छ, पाल्न सहज भएको उनले बताए । किसानका लागि उन्नत बीउ बिजन कार्यक्रम (केयुबीके) अन्तर्गत जिल्ला पशुसेवाको संयोजनमा डिभर्नामा परीक्षण गरिएको बोयर बोका सफल भएको छ । वर्ष दिनअघि जालकाँडा बाख्रापालन समूह गठन गरी १३ बोका हस्तान्तरण गरेको थियो । बोयरबाट जन्मेका बोका काटेर खान र व्यक्तिगत बेच्न पाइँदैन । कार्यालयले नै खरिद गर्छ । उत्पादित ७२ बोका सल्यान, प्यूठान, बझाङ, रुकुम र पाल्पा लगिएको छ ।
समूहमा एक सय १५ घरका कृषक आबद्ध छन् । बोयर बोका समूहभित्रका कृषकले पालेका बाख्राबाहेक अन्यत्र दिइँदैन । स्थानीय पशुपति नेपालीले एक बोकाबाट ३५ हजार रुपैयाँ आम्दानी लिए । ‘घरमा एक–दुई बाख्रा त सधैं पालिन्थ्यो,’ उनले भने, ‘तीन महिना पालेको यति धेरै पैसा पर्यो ।’ दुई बाख्रा ब्याउने छन् । पशुपति र रोमाखरले गाउँमा घर बनाउने काम गर्छन् । दुवैले भने, लेबर काम छाडेर अब हामीले ध्यान दिएरै बाख्रा पाल्छौं ।’ रोमाखरको ध्यान अहिले बाख्रा र बोकाको स्याहार सुसार, खानपिनमै ध्यान छ । ‘बोकाको आम्दानीले एकै वर्षमा मेरो जीवन फेरियो,’ उनले भने, ‘अब मेरो मुख्य पेसा बाख्रापालन हुन्छ ।’
बोयर बोकाबाट ९० प्रतिशत पाठा नै जन्मेका छन् । परीक्षण पूर्णरूपमा सफल भएको केयूबीकेकी कार्यक्रम सहसंयोजक राधा नेपालीले बताइन् । ‘डिभर्ना बोयर बोकाको ‘हब’ नै बनेको उनको दाबी छ । समूहमा आबद्ध एक सय ५३ घरका कृषकले एक हजार बाख्रा पालेका छन् । समूहमा १३ बोयर बोका छन् । स्थानीय जातका बाख्रामा बोयरबाट जन्मेका २ सय ५५ बोका, दुई सय १७ पाठी र अहिलेसम्म ७२ बोका र २१ पाठी बिक्री भए । एघार महिनामा २६ लाख, २४ अजार चार सय रुपैयाँ भित्रिएको समूह अध्यक्ष गोपाल बस्यालले बताए । अझै ९७ बोका र एक सय १२ पाठी बुकिङ भइसकेको छ ।
बोयरबाट जन्मिएका बोका बेच्नेको आर्थिक स्थितिमा परिवर्तन भएको उनले बताए । ‘गाउँलाई अब बाख्रापालनबाटै समृद्ध बनाउनुपर्छ,’ वरिष्ठ पशु विकास अधिकृत लोकनाथ पौडेलले भने, ‘डिभर्नामा परीक्षण सफल भएपछि जिल्लाभर विस्तार गर्ने योजना छ । सबै पालिकाले बोयर बोका खरिद गर्न बजेट छुटाएका छन् ।’ बेलाबेलामा औषधि उपचार, गुणस्तर आहार, पालनपोषणमा ध्यान दिने र हाडनाताको सम्बन्ध छुटाएपछि छिटै हुर्किने उनले बताए ।