अमेरिकी नेतृत्वमा सिरियामा भीषण हवाई हमलाको तयारी थालिएको छ ।
सिरिया आसपासबाट उडान गर्ने विमानहरुलाई टाढै रहन चेतावनी दिइएको छ । युरोपेली एयर ट्राफिक कन्ट्रोल एजेन्सीले सिरिया आसपासबाट आगामी ७२ घण्टासम्म उडान नगर्न विमान कम्पनीहरुलाई चेतावनी दिएको हो ।
यस्तो चेतावनीलाई हवाई हमलाको व्यापक तयारीका रुपमा लिइएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
चेतावनीमा हावाबाट जमिनमा आक्रमण गर्न सकिने जनाइएको छ । आक्रमणमा क्रुज मिसाइल प्रयोग हुन सक्ने स्रोतको दावी छ ।
विमानहरुलाई सिरियाबाट टाढै रहन चेतावनी दिएलगत्तै सिरियाली आकाशमा विमानहरुको चाप घटेको छ । अधिकांश विमानले सिरियाली आकाशबाट उडान रुट परिवर्तन गर्दै गन्तव्यतर्फ लागेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा हमला गर्ने उद्घोषका साथ रुसलाई समेत तयार रहन चेतावनी दिएलगत्तै यस्तो गतिविधि देखिएको हो । (एजेन्सी)