मोटर चलेपछि अर्घाखाँचीका गाउँ-गाउँको जीवन दैनिकी फेरियो

पाणिनि गाउँपालिकाको देउरालीबाट बुटवल जाने बसमा तरकारी पठाउँदै कृषक । 
वीरेन्द्र केसी कान्तिपुर 
अर्घाखाँची ।  सदरमुकामबाट करिब दस किमि उत्तरपश्चिम बाँगीबाट सन्धिखर्क पैदल हिँडेर आइपुग्दा चार घण्टा लाग्थ्यो । हिँडाइको थकाइले गाउँबाट बजारमा बिक्री गर्न कसैले कोही ल्याउँदैनथे । खसीबोका बिक्री गर्न बजार ल्याउन मुस्किल थियो ।
बजार झरेर चिनी, चामल बोकेर घरसम्म पुर्‍याउँदा दिन बित्थ्यो । सदरमुकामबाट गाउँमै मोटर पुगेपछि दैनिकी फेरियो । सुरुमा गाउँलेले महिनौं लगाएर गैंती, कोदालाले बाटो खनेर गाडी चल्ने बनाए ।
अहिले डोजर र स्काभेटरले सडकको चौडाइ फराकिलो पारेपछि गाडीमा आधा घण्टामै गाउँबाट सदरमुकाम आइपुगिन्छ । दैनिक बस, जिप, ट्रक, टयाक्सी र ट्याक्टर चल्छन् । अहिले उत्पादन भएको सबै वस्तु बजारमा ल्याएर बिक्री गर्न सहज भएको छ । मोटर चलेपछि बाँगी बाँसटारीका विष्णु कार्कीले कतार जान छाडेर भैंसीपालेका छन । अनिल भैंसी फार्म खोलेर १८ वटा भैंसी र ९ गाई पालेका छन । उत्पादित दैनिक १ सय १० लिटर दूध बस र जिपले बजारका डेरीमा ल्याइदिन्छन् । त्यसैले उनलाई घरमै बसेर फार्म सञ्चालन गर्न सहज भयो । ‘दूध जति उत्पादन गरे पनि बिक्री हुन्छ,’ उनले भने, ‘गाडी चल्छन् । आफै पनि मोटरसाइकलमा बोकेर जान्छु । दूध, दही, घिउ र तरकारी सजिलै बजारमा बिक्री हुन्छ ।’ घर खर्च कटाएर महिनामा ७० हजार रुपैयाँ बचत भएको उनले बताए । यति कतारमा आम्दानी थिएन । उनको घरमा भैंसी, बाख्रा, कुखुरा पहिलेदेखि पालिन्थ्यो । तर, खेतबारीमा मलको लागि मात्रै । तरकारी परिवारले खाना र नातेदारकहाँ पाहुर दिन मात्रै खेती हुन्थ्यो । अहिले त्यो छैन । बारीमा साग, मुला, काउली, आलु उत्पादन छन । त्यसैबाट पैसा आउँछ । बिक्री भएपछि बेमौसमी तरकारी उत्पादन भएको उनले बताए । ‘दूध, खसीबोका र लोकल कुखुरा गाडीमा राखेर बजार पठाइदिन्छु,’ उनले भने, ‘अब म विदेश जान्न ।’
मालारानी गापा–५ मा पर्ने बाँगीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी जोन कार्यक्रम लागू भएको छ । थोरै जग्गामा मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्ने यसको लक्ष्य हो । सिँचाइ सुविधा राम्रै छ । तरकारी र पशुपालन पकेट क्षेत्रको रूपमा विकास गर्ने गापा अध्यक्ष बालकृष्ण आचार्यले बताए । सबैलाई सहकारीमा आबद्ध बनाएर एक घर एक उत्पादनको नीति अघि सारी गाउँलाई समृद्ध पार्ने योजना अघि सारिएको उनले बताए ।
पाणिनि गाउँपालिका सबै वडामा उत्पादित वस्तु पाल्पाको तानसेन र कपिलवस्तुको सालझण्डी हुँदै बुटवल पुग्छ । छत्रदेव गापाको गुल्मीको तम्घास र सितगंगा नगरपालिकाको कपिलवस्तुको चन्द्रौटा, चार नम्बर हुँदै बुटवल जान्छ ।
खसीबोका, बंगुर, पाडा, तरकारी, दूध, घिउ, पनिर र मसलाबाली लगायतका वस्तु जिल्लाबाहिर निर्यात भइरहेका छन् । गाउँमा उत्पादन भएको वस्तु बजारसम्म पुग्न यातायातको सुविधाले सम्भव भएको हो । पाणिनिको पोखराथोक, पणेना, पटौटी, मैदान, खिदिम लगायतका गाउँबाट दैनिक तरकारी र दूध बसले तानसेन पुर्‍याइदिन्छ । जिल्ला सदरमुकाम र तानेसन करिब ३० किमि टाढा छन् । दुर्गाफाँटदेखि तानसेन दैनिक बस र जिप चलेपछि खिदिमका रामु न्यौपानेले १२ वटा गाई किने । सवारी चालक पेसा छाडेर अहिले कसरी धेरै दूध उत्पादन गर्नेमा उनको ध्यान छ । ‘भाँडोमा राखिदिएपछि बसले दूध तानसेन लैजान्छ,’ उनले भने, ‘वर्षमा ३ लाख रुपैयाँ बैंक बचत छ । बसले दूध बोक्न थालेपछि गाउँको मुहार नै फेरियो । ‘घर खानलाई तरकारी खेती गर्नैपर्छ,’ उनले भने, ‘त्यसमा अलि मेहनत गरेर रोपनीमै खेती गरेपछि खानलाई हुने, बिक्री गरेर पैसा पनि कमाइने ।’
गाउँका २२ जना कृषकले दुर्गाफाँट दुग्ध उत्पादक समूह गठन गरेर भैंसी र गाइपालेका छन । तानसेनको श्रीनगर डेरीमा दैनिक चार सय ५० लिटर दूध जान्छ । विदेशबाट फर्किएका तीन जना युवाले गाइपालेका छन । ‘मोटरबाटोमा दैनिक गाडी नचलेको भए सम्भव थिएन,’ समूहका सदस्य न्यौपानेले भने, ‘दूध र तरकारी बेचेर महिनामा ५ हजारदेखि ५० हजार रुपैयाँ आम्दानी गर्ने कृषक छन् ।’ गाउँमा उत्पादन भएको तरकारी, दूध, अदुवा, बेसार, खसीबोका गाडीले बजारमा पुर्‍याइदिएपछि हाम्रो जीवनै फेरियो, उनले भने । माग धेरै भएपछि जाँगर हुने जोकोहीलाई पनि पैसाको दु:ख छैन, विदेशै जानु नपर्ने उनले बताए ।
वर्षामा हिलो र हिउँदमा धुलो नउड्ने गराउने सडक पिच र ग्राभेल गर्ने गापा अध्यक्ष अच्युत गौतमले बताए । बजारमा सहजै उत्पादित वस्तु बिक्री भएपछि उत्पादनमुखी कार्यक्रमबाटै गाउँलाई समृद्ध बनाउने दाबी उनको छ ।
तम्घास नजिकै भएकाले छत्रदेव गापाको अर्घातोष, मरेङ, भगवती लगायतका गाउँबाट तरकारी र दूध दैनिक जान्छ । गाउँको ताजा तरकारी भन्दै बजारबाटै फोन गरेर माग गर्छन । कपिलवस्तु र दाङसँग सिमाना जोडिएको सितगंगा नगरपालिकाबाट बुटवल, कृष्णनगर नाका हुँदै भारतमा समेत यहाँको उत्पादन पुग्छ । ठाडाका कमानसिंह दर्लामीले बंगुर पालेका छन । गाउँमा बिक्री हुँदैन । बसबाटै तराई पुग्ने उनले बताए ।