अर्घाखाँचीडट्कम संवाददाता
फुडवाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेपाल बिधुत प्राधिकरण अर्घाखाँचीले चरम लापरवाही गरेको देखिएको छ ।
नेपाल बिधुत प्राधिकरण अर्घाखाँचीको चरम लापरवाहीका कारण सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ (साविक खाचिकोट ८) किटेनी देखि धरम्पानीसम्मको लाईनमा पोल गाड्ने र मर्मत नहुँदा स्थानियबासीहरु ठुलो जोखिममा परेका हुन् ।
किटेनी देखि धरम्पानीसम्मको लाईनमा अहिले स्थानियबासीहरुले सल्लाको पोल बनाएर चलाएका छन् । तर महिनौ देखि ८-९ वटा नयाँ स्टिलका पोलहरु अलपत्र बाटोमा थन्किएको रहेका छन् ।
उक्त जंगल क्षेत्रमा बिजुलीका हाइभोल्टेज नांगा तारले जमिनमा छोएका छन् । उक्त क्षेत्रमा नयाँ पोल गाडन र बिजुली तार व्यवस्थापन गर्न बारम्बार अनुरोध गर्दा समेत प्राधिकरणले चासो नदिने स्थानीय गुनासो छ । किटेनी, धरम्पानी लगायत खाचिकोटका स्थानियबासीहरु प्राधिकरणको बेवास्ताले कति बेला बिजुलीकोे तार चँुडिएर र पोल ढलेर लाग्ने हो भन्ने त्रासमय जीवन बिताउन वाध्य छन् ।
यस्तै जिल्लाका विभिन्न सडक क्षेत्रमा बिजुलीको तार लत्रिएका देखिन्छन् तर प्राधिकरणले चासो नदिने गरेको देखिन्छ । विभिन्न समयमा कहिले हाइभोल्टेज त कहिले बिजुलीको खम्बा ढलेर र विभिन्न क्षेत्रमा विद्युत्का तार लत्रिएर हुने मानवीय क्षतिप्रति प्राधिकरण मौन रहेको देखिन्छ ।
गत फागुन ३० गते भूमिकास्थान नगरपालिका (साबिक खिल्जी वार्ड नम्बर -६) खिल्जी हटिया निवासी बर्ष ६५ का कविराम श्रेष्ठको आफ्नो घर नजिकै रहेको पखेरोबारीमा कुटमेरोको डालेघाँस काट्ने क्रममा रुख देखि माथिबाट गएको हाइटेन्सन बिजुलीको तारले रुखलाई छुदा करेन्ट लागेर मृत्यु भएको थियो ।
अर्घाखाँचीमा विद्युतीय लाइनको अव्यवस्थित तार, कमसल खम्बा र बेला बेलामा आउने बढी करेन्ट प्रवाह(हाइभोल्टेज)का कारण करेन्ट लागेर कयौको मृत्यु भएको देखिन्छ । प्राधिकरणको लापर्बाहीको कारण वर्षौंपिच्छे अकालमा ज्यान गुमाउन बाध्य छन् अर्घाखाँचीबासी ।
समय समयमा विद्युत्का कारण हुने दुर्घटना रोक्न सम्बन्धित प्रशासनले आफ्नो काम प्रभावकारी रुपमा गर्नुपर्ने देखिन्छ ।
नेपाल विधुत प्राधिकरण कार्यालय अर्घाखाँचीले जिल्ला भित्र रहेका बिजुलीका पुराना पोलहरु, हाइटेन्सन तारहरु गाँउ टोलमा पुगेका शाखा लाइनहरुलाई बेला-बेलामा चेकजाँच नगर्दा यस्ता अविश्वासनीय घटना बेला बेलामा घट्ने गरेको स्थानियवासी बताउछन् । नेपाल बिधुत प्राधिकरण कार्यालय अर्घाखाँचीले यस्ता प्रकारको घटना हुन् नदिन बेला बेलामा मेनलाईन र शाखा लाईनको चेकजाँच गर्न जरूरी छ ।