मथुराबेंसी, ढाकाबाङ खाकाबेंसी, साम्नेगाउँ, ठूलापोखरा, केरुङ्गा, पाली, जलुके, जुकेना, वाङ्ला र चिदिकामा चैते धान रोप्न चटारो, गोरु र खेतालाको समस्या

शीतगंगा नगरपालिका ७ मा हिउँदे धान रोप्न बीउ उखेल्दै कृषक । 
वीरेन्द्र केसी कान्तिपुर
अर्घाखाँची । खेतमा हिउँदे धान रोप्न जति कृषकलाई चटारो छ । त्यति नै चिन्ता खेताला पाउन । ब्याडमा बीउ उखेल्ने, रोप्ने र आली लगाउने खेताला अभाव छ । खेत हिल्याउने गोरु पनि भनेको बेला पाइँदैन । जिल्लाका केही ठाउँमा हिउँदे र वर्षे धान खेती हुन्छ ।
मथुराबेंसीमा गोपाल खनालले सात रोपनी खेतमा रोपाइँ एकै दिन भ्याउँथे । खेताला अभावले अहिले भने ३ दिनसम्म पनि सकेनन् । ‘छिमेकमा काम गर्ने जनशक्ति अभाव नै हो,’ उनले भने, ‘खेत बाँझै छाड्न मनले मानेन, जति दिन लागे पनि रोपाइँ त गर्नुपर्‍यो नि ।’ गोरु पाइँदा धान रोप्ने खेताला पाइँदैन । खेताला पाएको दिन गोरु नै पाइँदैन ।’ गाउँमा हलगोरु पाल्नेक्रम घटदो छ । धान रोप्न महिला खेताला पाउन मुस्किल रहेको उनले बताए ।
‘पहिले छिमेकीबीच आलोपोलो रोपाइँ गरिन्थ्यो,’ उनले भने, ‘अहिले त्यो सहयोगी भावना हरायो ।’ उनका अनुसार जनशक्ति अभावमा खेत बाँझिने क्रम बढदो छ । एक हल गोरुले दिनभर काम गरेबापत हलीलाई ७ सय रुपैयाँ दिनुपर्छ ।
महिला खेताला दिनको २ सय र पुरुषको ४ सय रुपैयाँ तिरेर धान रोपाइँ गरेको सोही गाउँकै गीता खनालले सुनाइन् । खेताला र गोरु अभावले बर्सेनि खर्च बढदो रहेको उनले बताइन् । समथर खेतमा ट्रयाक्टरले हिल्याए पनि अलि असहज ठाउँमा ट्रयाक्टर पुग्न नसक्दा कृषकलाई अझै मुस्किल छ । ‘यस्तै हो भने खेत बाँझै छाड्ने दिन आउन धेरै समय नलाग्ला,’ उनले भनिन्, ‘ब्याड राख्नेदेखि धान भित्र्याउनेसम्म खर्च जोडदा पसलबाट चामल किन्न सस्तो पर्ने देखियो ।’ युवाको ध्यान कृषिमा भन्दा वैदेशिक रोजगारी, पेसा, व्यवसायमा बढी भएकाले उब्जनी पनि घटदै गएको छ । सुखसुविधा रोज्दै सहरतिर बसाइँ सर्ने अर्काे कारण हो । वैदेशिक रोजगारमा भएका परिवार छोराछोरी पढाउन सहरमा डेरा गरी बस्दा खेताला नपाइएका हुन् ।
धानमा रासायनिक मल मात्रै प्रयोग गर्दा उब्जनी पनि थोरै र खेतको माटो बिग्रँदै गएको शीतगंगा ७ दमारबेंसीका हिमलाल बेल्बासेले बताए । ‘सबैले धान रोपिसके तर मेरो खेत बाँझै छ,’ उनले भने, ‘न गोरु पाएँ न खेताला । खेती गरेर खान दु:ख हुन थाल्यो ।’ धान रोप्न महिला नै चाहिन्छ । तर, युवा उमेरका काम गर्नेको कमी छ, उनले भने । मोटरबाटो भएका सजिला खेतमा ट्रयाक्टर पुग्छ । खेताला अभावमा कृषकको ध्यान मेसिनरी कृषि औजारतिर गएको छ । व्यक्ति, कृषक समूह र सहकारीले औजार खरिद गर्न थालेका छन् ।
जिल्लामा ४ सय हेक्टर (आठ हजार रोपनी) क्षेत्रफलमा चैते धान खेती हुन्छ । चैते १, चैते २ र हर्दिनाथ १ र २ जातका धान खेती गरिन्छ । मथुराबेंसी, ढाकाबाङ खाकाबेंसी, साम्नेगाउँ, ठूलापोखरा, केरुङ्गा, पाली, जलुके, जुकेना, वाङ्ला र चिदिकामा चैते धान खेती हुन्छ । एक हेक्टरमा २.६ मेट्रिकटन उत्पादन हुने कृषि प्रचार अधिकृत थिरलाल गैरेले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट ५० प्रतिशत अनुदानमा औजार वितरण गरियो । हलो र गोरुको झमेलाभन्दा औजारबाट सजिलो भएकाले माग बढदो रहेको उनले बताए ।
थ्रेसर ५ वटा, मकै छोडाउने हाते मेसिन ५०, विद्युतीय मेसिन ४, वर्षा पम्प २, भूकम्प पीडितलाई ९० प्रतिशन अनुदानमा कृषि औजार वितरण गरियो । कृषक समूह, सहकारी र व्यक्तिले हलो र मेसिनरी औजार खरिद गरेका छन् । खोलाता अभाव भएकाले औजारको माग अत्यधिक रहेको छ ।