जलुकेको दमारबेंसीमा सिँचाइ नहुँदा खेत बाँझै


वीरेन्द्र केसी कान्तिपुर
जलुके, अर्घाखाँची । किसानले गहुँ काटेर भित्र्याइसकेका छन् । गहुँ काटेका फँटमा चैते धान रोप्ने चटारो किसानलाई हुनुपर्ने हो । तर त्यस्तौ छैन । धेरै खेत बाँझै छन् । डेढ दशकअघिसम्म जलुकेको दमारबेंसीको करिब ५ हेक्टर क्षेत्रफलको खेतमा वर्षमा दुईपटक धान र एकपटक गहुँ खेती हुन्थ्यो । आधा खेतमा फागुनमा मकै रोपिन्छ ।
१४ वर्षदेखि पूरै फाँटमा चैते धान र मकै खेती उब्जनी छैन । कारण २०६० सालमा आएको बाढीले सिँचाइ कुलोको बाँध बगाइदिएपछि चैते धान रोप्न सकस छ । वर्षामा खहरे खोलाको पानीले धान खेती हुन्छ । हिउँदमा बोक्से खोलाको बाँधबाट खेतमा पानी ल्याएर धान र मकै खेती हुन्थ्यो । अहिले आधा उब्जनी घटेको छ । 
नौमुरे जलविद्युत् आयोजनाको नजिकै रहेको उक्त फाँट मलिलो र उब्जनी राम्रो हुने भएकाले डाँडापाखाबाट समेत यहीं बसाइँसराइ बढ्दो छ । ‘वर्षमा दुई पटक धान रोप्थ्यौं,’ दमारबेंसीका हिमलाल बेल्बासेले भने, ‘आधा खेतमा चैते धान र आधामा मकै रोप्थ्यांै, अहिले वर्षे धान र गहुँ मात्रै खेती भएको छ ।’ हिउँदमा कुलोको पानी खेतमा आउँदा धेरै बाली भित्राउन पाउँदा अन्न उब्जनी धेरै हुँदा बजारमा चामल किनेर खानु पर्दैनथ्यो, बेच्थ्यौं ।
अहिले किनेर खानुपरेको उनले बताए । खेतमा पानी नभएपछि धान रोप्न कठिन भएको उनले बताए । फाँटमा ६५ घरपरिवार बसोबोस गर्छन् । २०६० सालमा बाँधसँगै बाढीले खेतसम्म बगाएर लगेको थियो । दमारबेंसीकी तुल्सा बेल्बासेले दस रोपनी खेतमा उब्जेको मकै, धान, गहुँ लगायत तरकारी खेतीले परिवार पाल्न सजिलो भएको थियो । बाह्रै महिना खेतमै काम गर्न भ्याइनभ्याइ हुन्थ्यो । सयौं मुरी धान र मकै फल्थ्यो । वर्षे धान रोप्ने बेला पर्खेर बस्नु परेको छ । अहिलेसम्म दमारबेंसीमा बिजुली पनि पुगेको छैन ।
दुर्गम बस्ती भएकाले राज्यको उपस्थिति न्यून छ । सरकारी कार्यक्रम यहाँ शून्य छन् । खेतीयोग्य जमिन भएकाले यहाँ जे बाली पनि उत्पादन हुन्छ । उब्जनी नहुने बस्तीमा सरकारी रकमले सिँचाइ र खानेपानी योजना सञ्चालित छन् । ‘तर जहाँ उत्पादन भएर सिंगो गाउँलाई खाद्यान्न किन्न नपर्ने स्थानमा सरकारी निकाय र नेताको कुनै चासो छैन,’ उनले भनिन्, ‘अनि कहाँबाट हुन्छ विकास ।’ खेतको आलीमा भटमास राम्रो उत्पादन हुन्छ । मौसमी तथा बेमौसमी तरकारी खेती पनि हुन्छ । चारैतिर जंगल । बीचमा समथर भूभाग र चिसो पानी भएकाले यहाँ उत्पादन भएको खाध्यान्न खानलाई स्वादिलो र मीठो हुन्छ । 
टानबहादुर पुलामीको जलुकेमा पनि बारी र घर छ । बारीमा भन्दा खेतमा उब्जनी राम्रो हुने भएकाले यहीं घर बनाएर बसेका छन् । ‘बाढीले कुलो भत्काएपछि हामीलाई साह्रै मर्का परेको छ,’ उनले भने, ‘अन्न उब्जनी आधा घट्यो । तीस रोपनी खेतमा आधामा माघ/फागुनमै मकै रोपिसक्थे । आधामा चैते धान । असारमा धान पाकेपछि फेरि वर्षे धान रोप्ने र फेरि गहुँ खेती हुन्थ्यो ।’ खोलाको किनारमा रहेका खेत मात्रैमा चैते धान रोप्न सम्भव छ । ९० प्रतिशत फाँट बाँझै छ । बारम्बार सरकारी निकाय र नेताकहाँ धाउँदा आश्वासन पाइन्छ तर काम सुरु गर्न कहिल्यै बजेट नपरेको गाउँलेको गुनासो छ । यहाँ चुनावका बेला मात्रै देख्न पाइन्छ ।
भोट तान्न सबैले भत्किएको कुलो मर्मत गर्न बजेट पारिदिने आश्वासन दिए पनि अहिलेसम्म फर्केर कसैले नहेरेको गुनासो धेरैको छ । सरकारी कर्मचारी यो गाउँमा अहिलेसम्म कोही देखा परेका छैनन् । बिजुली नआएपछि सबैले घरमा सोलार बत्ती जडान गरेका छन् । ‘बिजुली भएको भए मोटरबाट खोलाको पानी खेतमा तानेर सिँचाइ गर्न सम्भव हुने थियो र चैते धान रोपिन्थ्यो, त्यो पनि भएन ।’ जानका पुलामीले भनिन् । वर्षामा खोलामा बाढी ठूलो आउँछ । हिउँदमा पानी प्रशस्तै छ । खेतमा पानी ल्याउन खोला किनारामा बाँध बाँधेर ल्याइएको थियो । मोटो रकम लाग्ने अनुमान गाउँलेको छ ।