भेडामारेबाट सिमलपानी जोड्ने सडक निर्माणमा प्रयोग गरिएको एक्साभेटर ।
वीरेन्द्र केसी कान्तिपुर
सिमलपानी, अर्घाखाँची । शीतगंगा नगरपालिकाको जटिल भूगोलका केही बस्तीबाहेक अन्य स्थानीय तहका टोलैपिच्छे सडक सञ्जाल छन् । नयाँ मोटर बाटो पत्ता लगाउन सके गन्तव्यमा चाँडै पुगिन्छ ।
अग्ला र डरलाग्दा पहाडको छिचोलेर भए पनि टोलबस्तीमा यातायातको सुविधा पुगेको छ । टोलको प्राय: घरैपिच्छे रेमिट्यान्स, चन्दा संकलन, निजी लगानी र सामुदायिक वनको आम्दानीबाट पनि सडक खनिएका छन । निजी लगानीमा खनिएका कतिपय सडक पुरिए । घरसम्म लैजाने निजी यातायात नभएर ती पुरिएका हुन् ।
जिल्ला समन्वय समितिका अनुसार जिल्लामा ५ सय बढी सडक छन् । तर सदरमुकाम जोड्ने सन्धिखर्क-गोरुसिँगे सडक कालोपत्रे गरिएको छ । सन्धिखर्क-तम्घास, सन्धिखर्क-प्यूठान र बल्कोट खर्जाङ सडक ग्राभेल छन् । अरु सबै कच्ची छन् । सदरमुकामबाट गाउँ जोडिने अधिकांश सडकमा वर्षामा पनि सवारी चल्छन् ।यातायात सुविधा भएपछि कोही पनि पैदल हिँड्दैनन् । घरबाट सहर झर्दा घरमा उत्पादन भएको तरकारी, मसलाबाली, खसीबोका लगायतका वस्तु गाडीमा ल्याएर बिक्री गरी घर फर्कंदा तेल, नुन, चामल लगायतका अत्यावश्यक वस्तु किनेर लैजाने गर्छन् । सडक सञ्जालले सहर र गाउँको दूरी छोटो बनाइदिएपछि यात्रा सहज भएको छ । टोलबस्तीसम्मै सवारीसाधन पुग्छन् । ट्याक्सीले पनि थप सुविस्ता बनाएको धनचौरका अमृत गैरेले बताए । ‘पैदल हिँडेर सन्धिखर्क पुगेर फर्कन पूरै एक दिन लाग्थ्यो,’ उनले विगत सम्झे, ‘सदरमुकाम गाडीमा पुग्न एक घण्टा लाग्छ ।’
‘विकासको पहिलो खुड्किलो सडक नै हो,’ पूर्व जनप्रतिनिधि पीताम्बर भुसालले भने, ‘गाउँमा पुगेका सडकलाई संरक्षण गर्नुपर्छ । पहिलो चरणमा गाउँमा मुख्य सडकको नाली काट्ने, सडक तलमाथि पहिरो रोक्ने रूख रोप्ने, सडक पिच वा ग्राभेल गर्नुपर्छ । त्यसपछि सहायक र टोलस्तरीय सडक पनि पिच गर्नुपर्छ ।’ यातायात भएपछि छिटो छरितो काम गर्न सकियो । बिरामी पर्दा घरमै एम्बुलेन्स र गाडीले अस्पतालमा लैजान सकिने सुविधा भएको उनले बताए ।पालिकाले नयाँ बाटो निर्माणमा भन्दा भएका बाटो संरक्षण गर्नमा ध्यान दिएका छन् । तर पनि निजी लगानी र ऋणमा बाटो खन्ने काम निरन्तर चलेको छ । ‘बस्ती सडकविहीन भएको ठाउँमा मात्रै सडकमा बजेट विनियोजन गरेका छौं,’ भूमिकास्थान नगरपालिका प्रमुख रेशम थापाले भने, ‘पहिल्यै निर्माण भइसकेका सडकको मोड फराकिलो पार्ने, डबल कटिङ गर्ने, नाली काट्ने र सडक तलमाथि वर्षामा पहिरो रोकथाम गर्ने कामलाई प्राथमिकतामा राखेका छौं ।’
यो नगरभित्र सन्धिखर्क प्यूठान सदरमुकाम जोडने किमडाँडा–धारापानी–ढाकावाङ हुँदै र अर्काे सन्धिखर्क नुवाकोट–खिल्जी–असुरकोट हँुदै खलंगा जोडिन्छ । त्यसै गच्छे-भालुवाङ सडकको ढिकुरा र धनचौरमा आधा जति सडक यही नगरसँग जोडिन्छ । तीनवटै मुख्य बाटालाई डबल कटिङ गरेर पिच गर्ने योजना रहेको उनले बताए । सडक सञ्जालका हिसाबले यो मुलुकमै नमुना जिल्ला हो । अब ग्राभेल र पिचमा नमुना जिल्ला बनाउन सांसद कस्सिएका छन् । ‘जति पनि सडक छन् ती सबैको वर्गीकरण गरेर धूलो र हिलो मुक्त बनाइन्छ,’ पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले भने, ‘अब ५ वर्षभित्रमा सबै सडक पिच भएको जिल्ला कुन हो भन्दा अर्घाखाँची भन्ने बनाउन हामी सबै एकजुट हुनुपर्छ ।’ संघ प्रदेश र स्थानीय सरकारबीच समन्वय गरी सडक संरक्षण गर्न त्यही अनुसारको बजेट विनियोजन गरी सडक पिच गर्ने पहिलो प्राथमिकता रहेको उनले दाबी गरे । बाटो कालोपत्रे गर्न बजेट चाहियो, गिट्टी, ढुंगासहित सबै मेटरियल धेरै ठाउँमा पाइन्छ । स्थानीयको पहिले सडक चाहियो भन्ने थियो, अहिले कालोपत्रे गरिदिनुपर्यो भनेर धेरै ठाउँबाट माग आउने गरेको रायमाझीले बताए ।
कांग्रेस केन्द्रीय सदस्यद्वय एवं प्रतिनिधिसभा सदस्य मानबहादुर विश्वकर्मा र पुष्पा भुसालले पनि सडक सञ्जालको विकासलाई प्राथमिकता दिएका छन् । गाडी चल्ने सडकको स्तरोन्नति, तलमाथि हरियाली, नाली कटान गरेर नबिग्रने सडक बनाउने भूमिका खेल्ने भुसालले बताइन् । जिल्लाको पूर्वी छत्रदेव गाउँपालिकाको सबै टोलबस्ती सडक सञ्जालले जोडिएको छ । गुल्मी सदरमुकाम तम्घाससँग सिमाना जोडिएकाले यहाँको उत्पादन गाडीबाटै त्यहीँ जान्छ । सदरमुकामबाट मथुराबेंसी–बल्कोट–रिडी खज्याङ र बल्कोटबाटै केरुङा-छत्रगन्ज-अर्घातोष-तम्घास जोडिन्छ ।
सन्धिखर्क-डिभर्ना-ठूलापोखरा हुँदै छत्रगन्ज पनि अर्को बाटो जोडिन्छ । यो पालिकाका मुख्य बाटा यिनै हुन् । ग्राभेलको काम भइरहेको छ । अरू एक सय जति बाटाको स्नरोन्नतिको काम भइरहेको पालिका अध्यक्ष लेखनाथ पोखरेलले बताए । पाँच वर्षभित्र सबै सडक चिटिक्क हुन्छन्, उनले भने । मालारानी र पाणिनि गाउँपालिकामा पनि सडक स्तरोन्नतिका काम भइरहेका छन् । जिल्लाका तीन नगर र तीन गापामध्ये क्षेत्रफलका हिसाबले नेपालकै ठूलो शीतगंगा नगरपालिकाका जटिल भूगोलका केही बस्तीमा सडक निर्माण भइरहेको छ । छरिएर रहेको बस्तीलाई एकीकृत गर्ने र विकासका सबै पूर्वाधारको सुविधा उपलब्ध गराउनु मुख्य चुनौती रहेको नगर प्रमुख सूर्यप्रसाद अधिकारीले बताए ।
‘एकै दिन एउटा वडा घुम्न नसकिने अप्ठयारो भूगोल छ,’ उनले भने, ‘सबै बस्ती सडक सञ्जालले जोड्ने र स्तरोन्नतिको काम भइरहेको छ ।’ सन्धिखर्क-गोरुसिँगे सडक यही नगरको भूगोलभित्र छ । गाउँमा जोडिने सडकलाई हिलो र धूलो मुक्त बनाउन बजेटले भ्याएसम्म गरिने उनले बताए । पहिले सडक नजोडी अरू विकासका पूर्वाधारका काम गर्न कठिन हुन्छ ।
‘खानेपानी योजना सम्पन्न गर्न, बिजुली पोल ओसार्न लगायत गाउँमा उत्पादन भएको वस्तु बजारसम्म लैजान र सहरबाट खाद्यान्न भित्र्याउन यातायात नभई हुँदैन, त्यसैले पहिले सडक निर्माण र स्तरोन्नति नै गर्नुपर्छ,’ शीतगंगा ९ का वडाध्यक्ष भीम केसीले भने ।