वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची । सदरमुकाम सहित ६ स्थानीय तहमा विरोध प्रदर्शन गर्ने स्थान तोकिएको छ । नेपाल सरकार गृहप्रशासन सुधार कार्ययोजना २०७४ को बुदा नम्बर ३१ मा उल्लेखित विरोध प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालयमा आइतवार बसेको जनप्रतिनिधि, सर्वदलीय र सर्वपक्षीय बैठकले स्थान तोकेको छ ।
सन्धिखर्क नगरपालिकाको हकमा सन्धिखर्कको शान्ति बगैचा जाने मुल गेट नजिकै र चुत्रावेशीको त्रिवेणी चोकमा तोकिएको छ । कुनै पनि राजनीतिक दल र संघसस्था वा विभिन्न समुहले बैठकले तोकेको बाहेक अरु ठाउँमा विरोधका कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए ।
शीतगंगा नगरपालिकाको डमरु दहको पूर्ण उत्तरी भागको स्थान र भूमिकास्थान नगरपालिकाको चिदिचौरको चौर तोकिएको छ । मालारानी गाउँपालिकाको गिद्देपोखरी, छत्रदेव गापाको उलक मन्दिरको खालीचौर र पाणिनी गापाको बासाका रुखमा मात्रै विरोध प्रदर्शन गर्न ठाउँ तोकिएको छ ।
बैठकमा सन्धिखर्क नगर प्रमुख कमलप्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार विक, प्रहरी नायव उपरीक्षक एकनारायण कोइराला, कांग्रेस उपसभापति शान्ता भण्डारी, एमाले उपसचिव प्रेमनारायण गैरे, माओवादी केन्द्रका सहसंयोजक तोजबहादुर रायमाझी, राष्टिय जनमोर्चाका सचिव पशुपति ढकाल, कान्तिपुर दैनिकका उपसम्पादक वीरेन्द्र केसी, पत्रकार महासंघका प्रदेस सदस्य प्रेमनारायण आचार्य लगायतका सरोकारवाल सहभागी थिए । तोकिएको स्थान बाहेक अन्यत्र विरोधका कार्यक्रम गरे प्रहरीले नियन्त्रणमा लिन सक्ने सुरक्षा निकायले जनाएको छ ।
जिल्लालाई शान्ति सुरक्षा कायम गर्न र सार्वजनिक स्थानका सडकमा अवरोध सृजना नहुने किसिमले विरोधका स्थान तोकिएको प्रशासनले जनाएको छ ।