सिमलपानीको दुर्गम पावराका कृषक हावाहुरी र बाढीको वितन्डाले कुलो बगाएपछि चिन्तित

बाढीले बगाएको  शीतगंगा नगरपालिका १४, पावराटारा सिँचाइ आयोजनाको बाँध स्थल । बाढीले पुरिएको क्षेत्र हेर्दै स्थानीय । 
वीरेन्द्र केसी कान्तिपुर
पावराटारा, अर्घाखाँची । गर्मीले सुक्खा जस्तै बनेको खोलामा एक्कासि बाढी आयो । निर्माण सकिनै लागेको कुलाको बाँधै बग्यो । जेठको पहिलो साता खेतमा पानी पुर्‍याएर सिँचाइ गर्ने योजनामा रहेका कृषक बाँध बगेपछि समस्यामा परेका छन् । ६ महिनादेखि निर्माण भइरहेको बाँध बुधबार राति आएको बाढीले बगाएको हो ।
रातभरको वर्षाले शीतगंगा नगरपालिका १४, पावरा बस्तीमा आउने सिँचाइ कुलो बगाएपछि कृषक चिन्तित छन् । वाणगंगा खोलाको बाँधबाट पावरासम्म करिब ७ किमि दूरी छ । यहाँ २०४४ सालमा सिँचाइ कुलो निर्माण भई पानी आइरहेको छ । कृषकलाई प्रशस्त सिँचाइ सुविधा उपलब्ध गराउन आधुनिक बाँध निर्माण गर्न लागिएको थियो । ‘काम अन्तिम चरणमा आइपुगेको थियो,’ पावराटार सिँचाइ योजना उपभोक्ता समिति अध्यक्ष वीरबहादुर खाम्चाकीले भने, ‘दिनभर कुलो निर्माणको काम गरेका थियौं । राति ठूलो बाढीले बाँधै बगाइदियो ।’ ६ महिनादेखि गरेको काम पुरै शून्यमा झारिदियो । त्यस रात हावाहुरीसहित भीषण पानीसँगै खोलामा बाढी आएको उनले बताए । 
ठाडा, सिमलपानीलगायत बस्ती र चारैतिरको जंगलको पानी यही खोलामा मिसिएर वाणगंगा नदी कपिलवस्तु हुँदै भारत जान्छ । अहिले खेतमा हिउँदे मकै, धान, सूर्यमुखी र बेमौसमी तरकारी खेती छ । यो कुलोबाट पावराका १ सय ५ घरघुरी कृषक लाभान्वित छन् । सय हेक्टरमा अन्न र तरकारी उत्पादन हुन्छ । तत्काल कुलोलाई मर्मत गर्न जनश्रमदान र थप बजेट माग गर्ने उनले बताए । आधुनिक बाँध निर्माण र मुहानदेखि पावरासम्म कुलो मर्मत गर्न कृषकले दैनिक काम गरिरहेका थिए । सानो बजार, वडा कार्यालय, पावरा मावि स्कुललगायत गाउँको केन्द्र भएकाले उत्पादित वस्तु यहीं बिक्री हुन्छ । गाडीबाट डेढ घण्टामा पुगिने भएकाले उत्पादन भएको वस्तु कपिलवस्तुको पिपरा, बैरिया, चार नम्बरमा सहजै बिक्री हुन्छ । बाढीले बाँध बगाएर लैजानु र सय मिटरसम्मको कुलो पुरिएपछि अहिले पानी ठप्प भएको छ । ‘स्थानीयले ६ महिनादेखि दैनिक श्रम गरी ९० प्रतिशत काम सकेका थिए,’ वडा १४ की सदस्य एवं उपभोक्ता चुमा गाहाले भनिन् । 
कुलोको पानीकै भरमा पावराका खेतमा फसल उत्पादन हुन्छ । सिँचाइ पुग्ने आशामा श्रम गरेका सर्वसाधारण बाँध बगेपछि बेलैमा धान रोप्न नपाउने, मकै उत्पादनमा कमी आउनसक्ने र तरकारी खेती नोक्सान हुने भन्दै चिन्तित छन् । महिना दिनदेखी जिल्लाका विभिन्न ठाउँमा प्राय: दैनिकजसो वर्षा भइरहेको छ । आकाशमा बादल भइरहेकाले अघिल्लो वर्षको तुलनामा शीतल मौसम छ । आधुनिक बाँध निर्माणको लागि सिँचाइ विकास डिभिजन कार्यालयबाट ८३ लाख रुपैयाँ बजेटमा ठेक्काको काम भइरहेको छ । ठेक्कासँगै उपभोक्ताले पनि श्रम गरेका थिए । ‘बाढीले करिब ८० मिटरको बाँध बगायो र ९२ मिटरसम्मको निर्माण भइरहेको कुलो पुरेको छ,’ निर्माणको ठेक्का लिएको यू एन्ड आर शर्मा कन्स्ट्रक्सन प्रालिका सञ्चालक श्रीहरि गौतमले भने । बाढीले ४ जेनेरेटर, २० क्विन्टल छड, ४० थान जाली, कुलाको ढक्कन २५ थान, वाटर प्रुफ प्लाई ३० थानसहित घन, गैंतीलगायत मेसिनरी औजार पनि बगेको उनले बताए । ‘काम करिब सकिन लागेको थियो,’ उनले भने, ‘गर्मी मौसममा ठूलो बाढी आएर नोक्सान गर्ला भन्ने कल्पना पनि थिएन । बाढीले क्षति पुर्‍यायो ।’
निर्माण सामग्री र कामसहित करिब १६ लाख ३८ हजार रुपैयाँ बराबारको नोक्सान भएको उनले बताए । सिँचाइ कार्यालय प्रमुख टंक केसीले निर्माण सम्पन्न हुने लागेको कुलो बाढीले बगाएर नोक्सान पुगेको बताए । उनले स्थलगत अनुगमन गरी थप प्रक्रिया अघि बढाइने बताए । यसैबीच उपभोक्ताले चेकड्यामको ढुंगा नफुटाल्न कार्यालय र ठेकेदारसँग माग गरेका छन् ।