– मुक्तिनाथ भुसाल
धारापानी, अर्घाखाँची । भारतको नोयडामा वर्षौँअघि भएको बहुचर्चित आरुषी हत्याकाण्डले दिएको पीडा अर्घाखाँचीका हेमराज बन्जाडेको परिवारका लागि आज पनि अभिशापको आलो घाउ बनेर रहेको छ । जिल्लाको भूमिकास्थान नगरपालिका–४ मिलनचोकमा ०१९ साल पुसमा जन्मिएका बन्जाडे सानै उमेरदेखि रोजगारीका लागि भारततर्फ लागेका थिए । आरुषीसँगै हत्या भएपछि उनको भरथेगको आस गरेर गाउँमा बसेका परिवारको बिल्लीबाठ भएको हो ।
भारतको नोयडा सेक्टर–२५ निवासी राजेश तलवार नामक चिकित्सकको घरमा कामदार रहेका बन्जाडेको एक दशकअघि ०६५ जेठ २ गते हत्या गरिएको थियो । उनीसहित तलवारकी १४ वर्षीया छोरी आरुसीको समेत हत्या भएको कारण शुरुमा बन्जाडे फरार भएको आरोप लगाएर प्रचारप्रसार गरिएको कारण नोयडामा कार्यरत अन्य नेपालीले समेत कठोर यातना भोग्नुपरेको थियो । सो क्रममा तलवारको छिमेकमा काम गर्ने कृष्ण, राजकुमारलगायत बन्जाडेको मोबाइलमा नाम सेभ भएका थुप्रै नेपाली आरुषीको हत्याको आरोपमा भारतीय पक्षको निसानामा रहे पनि कालान्तरमा फरार भनिएका बन्जाडेको शव तलवारेकै घरको छतमा फेला परेपछि घटनाले नयाँ मोड लिएको थियो ।
यहाँ ध्यान दिनुपर्ने के छ भने आरोप लगाइएअनुसार आरुषीको हत्यारा हेमराज हुन् भने हेमराजको हत्याराचाहिँ को हुन् र उनको शव कसरी राकेश तलवारको घरमा फेला पऱ्यो ? आरुषी तलवार दम्पतीकी सहोदर छोरी नभई छोरी नातामा पालनपोषण गरिएको र तलवार स्वयम् या उनका निकटजनबाट आरुषीमाथि दुव्र्यवहार भएको र त्यसको साक्षी हेमराज हुँदा दुवैको हत्या भएको त होइन ? यस कोणबाट पनि त्यसबेला चर्चा गरिएको थियो, जो अहिलेसम्म जिज्ञासाकै विषय बनेर रहेको छ ।
आरुषीको हत्याकाण्डपश्चात् फरार भनिएका हेमराजको शव तलवारको घरमा फेला परेपछि अखिल भारत नेपाली समाजको सक्रियता र मृतक बन्जाडेकी पत्नी खुमकलाको अदम्य प्रयासका कारण कानुन व्यवसायी नरेश यादवमार्फत गाजियावाद अदालतमा उजुरी परेको थियो । जसका आधारमा तलवारदम्पतीमाथि कानुनी तरबार तेर्सिएको कारण करिब ४ वर्ष कैदी जीवन बिताई तलवारदम्पती केही महिनाअघि हिरासतमुक्त बनेको बुझिएको छ ।
घरायसी समस्याको कारण सानै उमेरमा भारतमा जागिरे जीवन बिताउँदै आएका बन्जाडेले ०६४ साउनदेखि तलवारको घरमा काम गर्न शुरु गरेका थिए । यसरी घरको काम शुरु गरेका उनी सोही वर्षको पुसमा अर्घाखाँचीस्थत घर आई पुसको अन्तिम दिन भारतका लागि प्रस्थान गरेका थिए । छोटो समय घर–परिवारसँग रमाउने क्रममा उनले आफ्ना मालिक–मालिक्नी पेशाले डाक्टर भएका र स–साना कुरामा पनि झनक्क रिसाउने कारण काम गर्न असहज भएको पीडा परिवारका सदस्यहरूलाई सुनाएका थिए । पत्नी खुमकलाका अनुसार आफ्नो घरबाट भारत फर्किएको पाँच महिनामा (०६५ साल जेठ २ गते) भारतीय टेलिभिजनहरूमार्फत श्रीमान्को हत्या भएको समाचार उनले सुनेकी थिइन् ।
यसरी जीवन गुमाएका बन्जाडेको घरमा ८० वर्षीया आमा, ५० वर्षकी श्रीमती खुमकला र २० वर्षीय छोरा प्रज्ज्वल रहेका छन् भने छोरी मीना पन्थीको विवाह भइसकेको छ । गाउँकै कृष्ण माविबाट १२ कक्षा उत्तीर्ण गरी प्रज्ज्वल हाल आर्थिक समस्याका कारण थप पढाइ अघि बढाउन नसकी घरमै अल्झिएका छन् । सानैमा बाबुको अभिभावकत्व गुमाएका उनी स्वास्थ्यका हिसाबले त्यति सबल पनि छैनन् । उपचारका लागि विगतमा पाँचपटकसम्म भारतको बनारस पुऱ्याइए पनि छोरो तन्दुरुस्त हुन नसकेको गुनासो गर्छिन् खुमकला । सुनौलो भविष्यको सपना बोकेर बिदेसिएका श्रीमान् सम्झँदै जीविका चलाउन आफूलाई हम्मेहम्मे परेको उनको दुःखेसो छ ।
भारतमा रहस्यमयी किसिमबाट हत्या गरिएका हेमराज बन्जाडेलाई स्मरण गर्दै उनका छिमेकी एवम् राष्ट्रिय जनमोर्चाका नेता सागर केसी हेमराज अत्यन्त मिलनसार, सहयोगी र नैतिकवान व्यक्तिका रूपमा आफूले जानेको बताउँछन् । हेमराजको श्रीमती र छोराको भनाइ छ, ‘हाम्रा श्रीमान् तथा बाबाको हत्या नोयडावासी राकेश तरवारको घरमा भएकोले यसको जिम्मा तलवारले नै लिनुपर्छ । साथै, छिमेकी देशका नागरिकको हत्या–प्रकरण भएकोले भारत सरकारले हजारौँ नेपाली भारतमा रोजीरोटीका लागि भारतका विभिन्न शहरमा कार्यरत रहेको अवस्थालाई विचार गर्दै यस मामलामा विशेष छानबिन गरेर दोषीलाई कारबाही गरी पीडित परिजनलाई क्षतिपूर्ति उपलब्ध गराउन पहलकदमी लिनुपर्छ ।’