सन्धिखर्कमा वितरण गरिने पानी एकदम प्रदूषित, पिउन अयोग्य, महामारी रोग फैलिन सक्ने (तस्बिर सहित)

प्रेम खड्का 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कका बासिन्दाहरु दुषित पानी पिउन वाध्य छन् ।
सन्धिखर्कको म्यालपोखरी बाहुनडाँडाको खानेपानी ट्यांकीमा प्रदूषित हुँदा तथा खानेपानी संस्थान उपभोक्ता समितीको लापरवाहीले गर्दा सन्धिखर्क बजारबासी दुषित पानी पिउन वाध्य हुन् । 
बाहुनडाँडाको खानेपानी ट्यांकीमा २,३ दिन देखि बाँदर डुबेर मरेको छ । ट्यांकी खुला हुनुका साथै लेउ, झिँगा, किरा लागेर जताततै फोहर देखिन्छ । यस्तै वर्षायाममा धमिलिएर, लेउ मिसिएको  पानी वितरण गरिन्छ । यहाँ बेला – बेला विभिन्न जंगली जनावर मरेको देखिन्छ । 
मौसम बदलीसँगै फोहोर र सरुवा रोगको पनि जोखिम बढ्दै गएका बेला दुषित पानी वितरण गर्दा सन्धिखर्कबासी स्वास्थ्यमा जोखिम बढेको छ । पछिल्लो समय सन्धिखर्कमा विरामीको संख्या पनि बढेको देखिन्छ । अहिले सन्धिखर्कबासी बागीखोलाको पानी भन्दा पनि फोहोर खानेपानी पिउन वाध्य छन् ।    
बाहुनडाँडाको खानेपानी ट्यांकीबाट सन्धिखर्कमा वितरण गरिने यहाँ एक जना हेरालु कर्मचारी राखिएको छ । धरमपानीका बोम बहादुर राना २४ सै घण्टा खटिएका छन् । उनलाई ११ हजार तलब राखिएको छ । तर उनी प्राय समय मदिर सेवान गरेर बसेका देखिन्छन् । 
बाहुनडाँडाको ट्यांकीबाट सन्धिखर्कमा वितरण गरिने खानेपानीबाट सन्धिखर्कबासी उपभोक्ताबाट मार्सिक महसुल १०, १२ लाख उठाइदै आएको देखिन्छ । सन्धिखर्कमा करिव ३० हजार जना उपभोक्ता दैनिक दुषित पानी पिउन वाध्य छन् ।
सन्धिखर्कबासीले मार्सिक महसुल मिनिरल वाटर बराबर पैसा लिएर दुषित खानेपानी वितरण गरी स्वास्थ्यमा खेलवाड गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।  
स्थानिय विज्ञ अनुसार सन्धिखर्कमा वितरण हुने खानेपानी पिउन लायक नभएको बताएका छन् । उमालिसकेपछि पनि यो पानी पिउन लायक नभएको बताइएको छ । विभिन्न रोगका जिवाणु फैलिन सक्ने र फोहोर ट्याङ्कीका माध्यमबाट उपभोक्तासमक्ष पुग्ने हुँदा त्यो पानी पिउन लायक नरहने विज्ञहरूको भनाइ छ । साथै सन्धिखर्कमा वितरण गरिने पानी लामो समय पिए पानीजन्य महामारी रोग फैलिन सक्ने बताएका छन् ।