बसन्त खड्का
सन्धिखर्क, अर्घाखाँची । राष्ट्रिय जनमाेर्चा (राजमो) जिल्ला समिति अर्घाखाँचीकाे चाैथाे जिल्ला सम्मेलन अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा शुरु भएको छ ।
सम्मेलनको राष्ट्रिय जनमाेर्चा केन्द्रीय अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री चित्र बहादुर के.सी.ले एक समारोहका बिच उद्घाटन गरेका थिए । केसीले आम्दानी बिनाको खर्च देशले थेग्न नसक्ने र संघीयता खारेज नभएमा संघीयताले देश नै खारेज हुने स्थिति आउने र देश नाइजेरिया जस्तै हुने खतरा रहेको बताए । कार्यक्रमको उदघाटन गर्दै केसीले कुशको औठी लगाएर अरुण तेस्रो ओली सरकारले भारतलाई बुझाएको भन्दै नेता केसीले देशमा वामपन्थीको सरकार भएपनि भ्रष्टाचार, महंगी र कालोबजारी बढेको बताउदै सरकारले राष्ट्रवादी कुरा गरेपनि देशको राष्ट्रियता, सार्भभौमिकता र अखण्डता कमजोर बनेको बताए ।
विदेशबाट आउने रेमिटान्सले देश चल्न नसक्ने भन्दै वार्षिक रुपमा विदेशबाट आउने ७ खर्वले अब यो देशलाई धान्न नसक्ने बताए ।
उनले केन्द्रमा थोरै अधिकार राखेर स्थानीय तहलाई धेरै अधिकार दिएर संघीय प्रदेश खारेज गर्नुपर्ने बताउँदै केन्द्र र स्थानीय तहलाई जोड्न सानो प्रशासनिक इकाई भए पुग्ने बताए ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका केसीले संघीयतालाई खारेज नगरिए संघीयताले देश खारेज गर्न सक्ने बताए । केसीले आफ्नो पार्टीले एमाले र माओवादीको एकतालाई स्वागत गरेको बताउदै एकतालाई दृघकालीन बनाउन आग्रह समेत गरे ।
सरकारले बिभिन्न क्षेत्रको सिण्डीकेट हटाएर राम्रो काम गरेकोप्रति धन्यबाद दिदै, अब सत्तामा रहेका ठुला भ्रष्टाचारी र तस्करीहरुलाई जनताले देख्नेगरी कारवाही गर्नुपर्ने बताए । नेपालको जल, जमिन, जंगललाई भारतले होल्ड गरेर आफ्नो अनुकुलमा राख्न खाजेको उल्लेख गर्दे विभिन्न समयमा भारतसंग भएका असमान सन्धि भारतको पक्षमा भएको केसीको भनाई छ । राष्ट्रियताको रक्षा, संघीयताको खारेजी हाम्रो अभियान समृद्ध अर्घाखाँचीका लागि ऐतिहासिक चाैथाे जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ टुडिखेलको सभाहलमा शुरु भएको सम्मेलनको उद्घाटन समारोह अगाडि हजारौको संख्यामा विभिन्न नारा लेखिएका ब्यानर सहित बिशाल -र्याली निकालिएको थियो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका पुर्ब महासचिव सन्तबहादुर नेपाली राजमो ५ नम्बर प्रदेश सदस्य शेरबहादुर बिसि, नेता सागर केसि,किसान संघका केन्द्रीय महासचिव कृष्ण केसि, अनेम संघकी केन्द्रीय उपाध्यक्ष सकुन्तला राना, बुद्धिजीवी संघका जिबनारायण खनाल, ट्रेडयुनियनका केन्द्रीय उपाध्यक्ष गोबिन्द बिसि, अखिल छैठौंका केन्द्रीय उपाध्यक्ष देबेन्द्र कुवर, नेकपाका प्रतिनिधि रामबहादुर चौहान,नेपाली काँग्रेसका सभापति बिष्णु खनाल मुस्कान, नयाँशक्ति पार्टीका टोपबहादुर बलाल,जनप्रतिनिधिको तर्फबाट बाबुराम सुनार,अखिल नेपाल युबक संघका कुलराज खनाल,पत्रकार महासंघका अध्यक्ष हिम जिसि लेकालीले शुभकामना मन्तब्य राखे ।
कार्यक्रम राजमो जिल्ला अध्यक्ष झबिलाल थापाको अध्यक्षता,उपाध्यक्ष पशुपति ढकालको स्वागत मनतब्य र सचिव गोपाल पौडेलको सञ्चालनमा सम्पन्न भएको हो । उद्घाटन सत्रपछि बन्द सत्रमा सांगठानिक र आर्थिक प्रतिवेदन माथि छलफल गरी, नयाँ नेतृत्व चयन गरिने आयोजकले जानकारी दिएको छ ।