अर्घाखाँचीडट्कम संवाददाता
बुटवल (अर्घाखाँचीडट्कम) । प्रदेश ५ अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवा सुविधा सम्बन्धी बिधेयक पारित भएपछि अर्घाखाँची जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरुका लागि सेवा र सुबिधा पाउने बाटो खुलेको छ ।
पारित भएको विधेयक अनुसार अर्घाखाँची जिल्लाका भूमिकास्थान नगरपालिका, शितागंगा नगरपालिका र सन्धिखर्क नगरपालिकाका प्रमुखको मासिक ३५ हजार रुपैयाँ, उपप्रमुखको ३० हजार रुपैयाँ, वडा अध्यक्षको २५ हजार रुपैयाँ, कार्यपालिका सदस्यको १३ हजार रुपैयाँ, सदस्यको ८ हजार रुपैयाँ पाउने छन् ।
यस्तै जिल्लाका तीन गाउँपालिकाहरु पाणिनी गाउँपालिका, छत्रदेव गाउँपालिका, मालारानी गाउँपालिकाका अध्यक्षको मासिक ३० हजार रुपैयाँ, उपाध्यक्षको २७ हजार रुपैयाँ, वडा अध्यक्षको २० हजार रुपैयाँ, कार्यपालिका सदस्यको १२ हजार रुपैयाँ र सदस्यको ७ हजार रुपैयाँ हुनेभएको छ ।
पारित भएको विधेयकमा जिल्ला समन्वय समितिका प्रमुखको मासिक तलब भत्ता ४१ हजार रुपैयाँ, उपप्रमुखको ३६ हजार रुपैयाँ र सदस्यको १६ हजार रुपैयाँ रहने व्यवस्था छ ।
साथै मासिक तलव ९ भत्ताका अतिरिक्त बैठक तथा भ्रमण भत्ताको व्यवस्था हुनेछ।