वीरेन्द्र केसी कान्तिपुर
सिद्धारा, अर्घाखाँची । गाउँलेलाई चितुवा, भालु, बँदेल, दुम्सी, सारो र बाँदरले सास्तीमाथि सास्ती दिएका छन् । केही समयअघि मकै बाली जोगाउँदा शीतगंगा ९ सिद्धारामा बँदेलको आक्रमणबाट दुई जना घाइते भए ।
बर्रेका मुक्तबहादुर भुसाल र भीमबहादुर परियारलाई भालुले पनि चिथोरेर घाइते बनायो । वन्यजन्तुका कारण उत्पादित अन्न, फलफूल र तरकारी जोगाउन मुस्किल परेको किसान भुसालको दु:खेसो छ ।
छत्रदेव गाउँपालिका र सन्धिखर्क नगरपालिकाले बाँदर नियन्त्रण गर्न प्रत्येक वडालाई एक–एक लाख विनियोजन गरेका छन् । त्यसले पनि बाली बचाउन सकेन । छत्रदेवका ९ र सन्धिखर्कका १२ वडा छन् । बाँदरले घरभित्रै पसेर अन्न खाइदिन्छन् । बँदेल र दुम्सीले तरुल, आलु, पीडालु, सख्खर स्वाहा बनाउँछन् । प्रहरी र प्रशासनमा गुहार्दा सुनुवाइ नभएको परियारले बताए । उनले भने, ‘पाक्न लागेका मकै कुर्न विद्यार्थी पढाइ छाड्न बाध्य छन् ।’
‘मकैको हेरालु बस्दा दुई महिना स्कुल जान पाइँदैन,’ कक्षा ९ मा पढ्ने खिदिमका पुनाराम गौतमले भने, ‘बारीको चारैतिर बस्नुपर्छ । मकै र पढाइको चिन्ता एकैपटक हुन्छ ।’ चार वर्षदेखि यसरी बस्दै आएको उनले बताए । अहिले सिमी, केराउ, काउलीलगायत तरकारी बाँदरबाट जोगाउनु परेको उनले सुनाए ।
यहाँका धेरै बालबालिकालाई यस्तो जिम्मेवारी छ । बाली नजोगाए खान पुग्दैन । त्यसैले परिवारले रेखदेखमा खटाउने गर्छन् ।
‘मेरो बारीमा १५ मुरी मकै फल्थ्यो, अहिले पाँच मुरी भित्र्याएँ,’ सिद्धाराका टेकबहादुर बेल्वासेले भने, ‘बँदेल, दुम्सी र बाँदरले सबै खाइदियो । दुई वर्षदेखि यो समस्या भोग्दै छु ।’ अन्न जोगाउन हेरालु बस्दा भालुले चिथोर्ने त्रास उस्तै छ । यहाँका बासिन्दाको परिवार पाल्ने मुख्य स्रोत अन्न र तरकारी बाली हो । आर्थिक समृद्धिका लागि कृषिमा आधुनिकीकरण गर्छौं भनेर जनप्रतिनिधि र सांसदले नारा घन्क्याए । ‘तर, वन्यजन्तुले अन्न सखाप पारिदिएपछि कसरी समृद्ध गाउँ बन्छ,’ उनले प्रश्न गरे ।
हिउँद र वर्षाका बेला पाक्न लागेका मकै, गहुँ जोगाउन बारीमै पहरा दिए पनि जोगाउन मुस्किल छ । अन्न खान आएको बाँदरलाई धपाउँदा उल्टै मान्छेतिर जाइलाग्ने र आक्रमण गर्ने गरेको उनले सुनाए । बाँदरको बगालले घरको छानो भत्काइदिने गर्दा लुकेर बस्न बाध्य भएको उनी बताउँछन् । ‘धपाउँदा भागेजस्तो गर्छन् तर केही छिनमै झुक्याएर आइहाल्छन्,’ जलुकेका जुनबहादुर पुलामीले भने ।
‘बारीछेउका पिँडालु साराले खाइरहेका थिए,’ सिद्धाराकी जानुका घर्तीले भनिन्, ‘लखेट्न लौरो लिएर दौडिएँ । तर, उल्टै ममाथि आक्रमण गर्न आए, भागेर ज्यान बचाएँ ।’
‘श्रीमान् कतारमा हुनुहुन्छ । दुई छोरा र म यहाँ बस्छौं । वर्षभर खानका लागि सय किलोका दुई बोरा चामल किने पुग्थ्यो । अहिले पाँच बोरा किन्नु पर्यो । खेतबारीबाट बीउसमेत नफर्केपछि गाउँमा बस्न सक्ने अवस्था छैन,’ जानुकाले दुखेसो पोखिन् । यस्तै दु:ख भएपछि छिमेकी तीन छोराछोरी लिएर बुटवल झरेको र खेतबारी बाँझै रहेको पनि उनले सुनाइन् ।
सुविधा खोज्दै सहर झर्नेको लहर चलिरहेका बेला गाउँमै बसेका परिवारलाई जंगली जनावरले विस्थापितको अवस्थामा पुर्याएको भीमबहादुर घर्तीले बताए । पैसा भएका र वैदेशिक रोजगारीमा भएका परिवारलाई गाउँ छाड्न सहज छ । तर, गाउँकै खेतबारीमा जीवन निर्वाह गरेकालाई अहिले अप्ठयारो परेको छ ।
‘साथमा पैसा र आम्दानीको स्रोत छैन,’ भीमबहादुरले भने, ‘खेतबारीको अन्नजति जंगली जनावरलाई भयो । अनि, के खाएर बाँच्ने ?’ जंगली जनावरलाई धपाइदिने व्यवस्था भए ढुक्कले अन्न उब्जाएर परिवार पाल्न सकिने उनले सुनाए ।
मानव बस्तीलाई अहिले जंगली जनावरले घेराबन्दी गरेका छन् । बँदेलले रातिमा घरको आँगनसम्मै आएर खेतबारीमा फलेका अन्न खाइदिन्छन्, दिउँसोमा बाँदरले घरभित्रै पसेर डालोभित्र राखेको अन्न, भाँडोमा पकाएर राखेको खानेकुरा खाइदिन्छन् । माटोमुनि फल्ने आलु, सख्खर, तरुल, पिँडालु दुम्सी, सारो र बँदेलले खाइदिन्छन् ।
घाँसदाउरा काट्न जाँदा भालुले आक्रमण गर्छ भन्ने डर छ । ‘गाउँमा त बस्नै गाह्रो भयो,’ बेल्बासेले भने । स्थानीयले कृषि बाली जोगाउन भरुवा बन्दुक राख्न पाउनुपर्ने माग उठाउन थालेका छन् । तर, सुरक्षा संवेदनशीलताका कारण तत्काल दिन नसकिने बताउँदै प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले भने, ‘जंगली जनावरका समस्याबारे गृह मन्त्रालयलाई जानकारी गराएका छौं, केही कार्यक्रम आउला । वन मन्त्रालय र जिल्ला वनसँग पनि समन्वय भएको छ ।’
आर्थिक वर्षको सुरुमै छत्रदेव गाउँपालिका र सन्धिखर्क नगरले बाँदर धपाउन बजेट नै छुटयाएर हेरालु राख्ने व्यवस्था गरेका थिए । यो केही सफल पनि मानिएको थियो । ‘हाम्रा जनप्रतिनिधिले पनि यस्तै कुनै उपाय खोज्नुपर्यो,’ भुसालले भने । छत्रदेव गाउँपालिकाका सबै बस्तीमा बाँदरको बिगबिगी छ ।