पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरोधमा कांग्रेसका दुई भातृसंगठनद्दारा सन्धिखर्कमा विरोध प्रदर्शन (फोटो फिचर)

प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची २०७५ जेष्ठ २० आइतवार (अर्घाखाँचीडट्कम) । सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको विरोधमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र तरुण दल अर्घाखाँचीले विरोध प्रदर्शन गरेका छन् ।
पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै कांग्रेसका दुई भातृसंगठनले आईतबार सदरमुकाम सन्धिखर्कमा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनपछि आयोजना गरिएको कोणसभामा तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्काले आयल निगमले कमिसनका लागि पटकपटक मूल्यवृद्धि गरेर जनतालाई दुःख दिएको आरोप लगाउदै मूल्यवृद्धि तत्काल फिर्ता लिन आग्रह गरेका थिए । यस्तै नेविसंघका कार्यबाहक जिल्ला अध्यक्ष नेत्र मरासिनीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
कार्यक्रममा नेपाल विद्यार्थी संघका जिल्ला उपाध्यक्ष सुरज रायमाझी, जिल्ला सचिव कृष्ण पौडेल लगायत बोलेका थिए । विद्यार्थीहरुले तानाशाही सरकार चाहिदैन, बालकृष्ण ढुंगेलको आममाफी फिर्ता गर, पेट्रोलियम प्रदार्थको मुल्यवृद्धि खारेज गर लगायतका नारा लेखेका प्लेकार्ड लिएर विरोध प्रदर्शनमा उत्रिएका थिए ।
यस्तै नेपाल विद्यार्थी संघ अर्घाखाँची र नेपाल तरुण दल अर्घाखाँचीले बालकृष्ण ढुंगेलको आममाफी फिर्ता  र पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धि फिर्ता लिन सरकारलाई प्रमुख जिल्ला अधिकारी मर्फत ज्ञापन पत्र बुझाएका थिए ।