अर्घाखाँची उद्योग बाणिज्य संघको सातौं बार्षिक साधारणसभा तथा पाँचौ अधिवेशन शुरु (तस्बिर सहित)

पहिलो प्रकासित मिती: २०७५ जेष्ठ २६ शनिबार 

अर्जुन भुसाल / प्रेम खड्का 
सन्धिखर्क, अर्घाखाँची। निजी क्षेत्रको योगदान विना राज्यले अघि सारेको समृद्धिको लक्ष्य पुरा हुन नसक्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले नीजि क्षेत्रलाई पनि विकासको साझेदारको रुपमा लिनु पर्ने औंल्याए । सरकारले नीजि क्षेत्रसँग सहकार्य गरि मुलुककलाई समुन्तीको दिशामा अग्रसर बनाउनु पर्नेमा जोड दिए । उद्योग वाणिज्य संघ अर्घाखाँचीको सातौं वार्षिक साधरण सभा तथा पाचौं अधिवेशनको खुल्ला शत्रमा बोल्ने वक्ताहरुले नीजि क्षेत्रको योगदानको प्रशंसा समेत गरे ।
राष्ट्रियसभा सदस्य चन्द्र बहादुर खड्का (उज्जव)ले अहिलेको वजेटले नीजि क्षेत्रलाई उपेक्षा नगरेको भन्दै आगामी दिनमा अझै सम्वोधन गर्ने बताए । ‘सोँचे अनुरुपको सम्बोधन नभएको हुनसक्छ’ उनले भने, ‘आगामी वर्षको वजेटले बाँकी मागहरु सम्वोधन गर्नेछ ।’ उनले जिल्लामा उद्योग तथा व्यापारको क्षेत्रलाई विस्तारलाई व्यापक बनाउनु पर्नेमा जोड दिँदै आवश्यक सहयोग गर्न जनप्रतिनिधिहरु तयार रहेको बताए । ‘सडक सञ्जालका हिसावले पहाडी जिल्ला मध्ये अर्घाखाँची नमूना नै हो’ उनले भने, ‘सडकको विस्तारले उद्योग व्यवसाय क्षेत्रलाई निकै फाइदा पुग्ने गर्छ ।’ खड्काले राष्ट्रिय गौरभको सालझण्डी–सन्धिखर्क– ढोरपाटन सडकले जिल्लामा पर्यटन व्यवसायको विस्तारमा धेरै फाइदा पु-याउने बताए ।
प्रदेश सभा क्षेत्र नं. २ का सांसद रामजी प्रसाद घिमिरेले मूलकमा राजनीतिक लडाइको समाप्ति भएको बताउँदै अब सरकारले नीजि र सहकारी क्षेत्रको सहकार्यमा आर्थिक क्रान्ति सम्पन्न गर्ने बताए । उनले वर्तमान सरकारले सार्वजनिक गरेको वजेट अर्थतन्त्रलाई सन्तुलनमा राख्ने खालको भएको बताए । ‘विगतको सरकारले अर्थतन्त्रलाई असन्तुलित बनाएको थियो’ उनले भने, ‘महत्वकांक्षी वजेट ल्याउन नसक्नु सरकारको वाध्यता थियो ।’
जिसस प्रमुख पिताम्वर शर्मा भुसालले जिल्लामा साना तथा मझौला उद्योगको विस्तार तथा प्रवद्र्धनमा जोड दिनु पर्ने बताए । ‘साना तथा मझौला उद्योगको विस्तारले मात्र वेरोजगारी समस्या हल हुन सक्छ’ उनले भने ।
उद्योग वाणिज्य संघका ५ नं. प्रदेश उपाध्यक्ष हेमराज वञ्जाडेले १५ लाख सम्म आम्दानी गर्ने व्यवसायीलाई करको दायराबाट हटाउन माग गरे । ‘हरेक वस्तुमा अहिले भइरहेको आयत घटाउन सकिएन भने समृद्धिको अभियान सफल हुन सक्दैन’ उनले भने, ‘राज्यले कृषिजन्य सामग्रीको उत्पादन बृद्धि गरि आत्मनिर्भरतामा जोड दिनुपर्छ ।’
सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाल भुसालले नगरपालिकामा उद्योग र व्यापारको क्षेत्रलाई विस्तार गर्न विभिन्न योजनाहरु तयार गर्न लागिएको बताए ।
प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले मुलकमा आर्थिक सूचक कमजोर रहेको भन्दै राज्यले अघि सारेका लक्ष्य प्राप्तिमा नीजि क्षेत्रले सहयोग गर्नुपर्ने बताए । उनले उद्योग क्षेत्रको योगदान ६ प्रतिशत रहेको जानकारी दिँदै यसलाई बृद्धि गर्नु पर्ने औंल्याए ।
दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण प्रसाद भुसालले साना व्यवासीको ढाड सेक्ने गरि सरकारले कर बृद्धि गरेको भन्दै घटाउन माग गरे ।
उद्योग वाणिज्य संघ रोल्पाका अध्यक्षविश्व चन्दले सरकारले कर वृद्धि नगरि करको दयरा बढाउनु पर्ने बताए ।
गौतमबुद्ध सामुदायिक मुटु अस्पताल रुपन्देहीका अध्यक्ष आजात आलमले अस्पतालले ५ नम्वर प्रदेशका सबै जिल्लामा डाइलोसिस सेवा सञ्चालन गर्न लागेको जानकारी दिए । अस्पतालले उद्योग वाणिज्य संघको अधिवेशन तथा साधरण सभाको अवसर पारि सन्धिखर्कमा मुटु रोग सम्वन्धी निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
कार्यक्रममा नेकपाका नेता जीवनारायण कोइराला, नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु प्रसाद खनाल मुस्कान, राष्ट्रिय जनमोर्चाका कार्यवहाक अध्यक्ष गोपाल पौडेल, नयाँ शक्ति पार्टीका महाधिवेशन प्रतिनिधि राजु नेपाली, विवेकशिल साझा पार्टीका संयोजक हरि प्रसाद भुसाल, पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसी (लेकाली), अर्घाखाँची शिक्षा क्याम्पसका प्रमुख श्रीकृष्ण भुसालले अधिवेशन सफलताको शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष अशोककुमार श्रेष्ठको स्वागत मन्तव्य र महासचिव नेत्रप्रसाद भुसालको सञ्चालनमा सम्पनन भएको थियो ।