गोखुंगामा मोवाइल चलाउँदा चट्याङ लागेर एक युवकको मृत्यु

प्रेम खड्का 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नं. ९ गोखुंगा सल्लेमा मोबाइल चार्जमा राखी चलाउने क्रममा अचानक चट्याङ परी करेन्ट लाग्दा एक युवकको  मृत्‍यु भएको छ । 
गोखुंगा सल्लेका १८ बर्षिय बिकास थापाको मोबाइल चार्जमा लगाई कानमा लिड ( एयरफोन ) लगाई फोनमा कुराकानी गरिरहेको बेलामा आकास्मिक चट्याङ लाग्दा मृत्यु भएको हो।
हिसो शनिबार राती करिव १०:१५ बजेको समयमा मोबाइल चार्जमा लगाई कानमा लिड ( एयरफोन ) लगाई सोझै फोन गरिरहेका बेला चट्याङ लाग्दा उनी बेहोस भएका थिए । उनलाई बेहोस भएको अवस्थामा सन्धिखर्क स्थित जिल्ला अस्पताल अर्घाखाँचीमा ल्याइएको थियो ।  तर उनी जिवित थिएनन्। उनको घटना स्थलमै मृत्यु भएको थियो। विकासले गाउँमै रहेको सुर्य माविबाट कक्षा १२ को परिक्षा दिएर बसेका थिए।  
 ‘मोबाइल चार्जमा राखेर दाइले फोनमा कुराकानी गरिरहनु भएको थियो’ सँगै रहेका भाई (सानी आमाका छोरा ) नविन हौजालीले भने, ‘कुराकानी गर्दा गर्दै दाई बेहोस भएर ढलेपछि मैले ठूलीआमालाई खबर गरे।’ 
छोराको मृत्युले आमा जाली थापा भावविहल बनेकी छिन्। ६ दिदिबहिनी, दुई छोरा मध्येका कान्छो छोराको अप्रत्यासित ढंगले निधन भएपछि उनलाई गहिरो चोट परेको छ। उनका श्रीमान  लिलबहादुर थापाको पनि निधन भइसकेको  छ।  जेठा छोरा इन्डिन आर्मीमा छन्। ‘निकै लगनशिल र अनुशासित व्यक्ति गुमाउनु पर्यो’ स्थानीय पदम क्षेत्रीले भने, ‘समाजले केही आशा गरेको व्यक्ति गुमाउँदा निकै पीडा हुँदो रहेछ।’
 जिल्ला अस्पताल अर्घाखाँचीमा पोस्टमार्टम पछि अन्तिम दाहसंस्कार गरिने परिवारले बताएको छ ।