भूमिकास्थान नगरपालिकामा भएको एक कार्यक्रममा । फाइल तस्बिर
वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । टिनको छानो मुनी साधुरा चार कच्ची कोठा । मेयर र उपमेयर बस्ने कार्यकक्षमा सरोकारवाला बस्ने ठाउँ छैन । साविक नुवाकोट गाविस कार्यालयमा भूमिकास्थान नगरपालिकाको कार्यालय सञ्चालनमा छ ।
नगर प्रमुख, उपप्रमुख, कार्यकारी अधिकृत र लेखापाल बस्न मात्रै पुग्छ । नगरमा जिल्ला प्राविधिक कार्यालयबाट दुई, जनस्वास्थ्यबाट दुई, कृषिबाट दुई र महिला तथा बालवालिकाबाट एक जना सहित पालिकाको अर्काे फाटको लागि साधुरो कोठा छ । तर, बस्ने बेञ्च समेत छैन । ‘हाजिर गरेर चौरमा बस्छम,’ जिल्ला प्राविधिक कार्यालयबाट नगरमा खटिएका सव इन्जिनियर जितेन्द्र श्रेष्ठले भने, ‘फिल्डमा पुगेर सर्बे गर्ने र अफिसमा कम्युटरमा बसेर नक्शा बनाएर काम गर्नुपर्छ, कार्यकक्ष नभए कसरी काम गर्ने ।’ बस्ने ठाउँ अभाव नै छ । सबैलाई कम्प्युटर पनि छैनन् ।
कार्यकक्ष पनि साधुरै छन । ‘बैठक बस्ने ठाउँ पनि छैन,’ नगर उपप्रमुख खडानन्द वेल्वासेले भने, ‘ट्रस्ट बनाउन जग्गा खोज्दैछौ । पूर्वाधार छैन । निर्वाह मात्रै चलेको छ । बैठक चौरमै बस्नुपर्छ ।’ नयाँ भवन बनाउनुपर्छ । पोखेडाँडामा कार्यालय राख्ने ठाउँ तोकिएपनि भवन बनाउनुपर्छ, उनले भने ।
विषयतगत कार्यालय जिल्लाबाट नगरमा आउँदा कर्मचारी बस्न भाडामा भवन पनि पाइएको छैन । केही समय अघि नगरमा ७० जना भन्दा बढी कर्मचारी चाहिने स्थानीय विकास मन्त्रालयले सांगाठानिक संरचनाको ढाचा तयार पारेको थियो । संविधानले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएपछि त्यसको कार्यान्यवनको लागि ठूलो संख्यामा कर्मचारी आवश्यक पर्ने भएको हो । जनप्रतिनिधि आएपनि बस्ने कार्याकक्ष पनि अभाव नै भएको छ ।
एउटा साधुरो कोठामा अध्यक्ष, उपाध्यक्ष, कार्यकारी अधिकृत र अर्काेमा लेखापाल र प्राविधिक बसेर बल्लतल्ल काम चलाउ पाणिन गाउंपालिका छ । कार्यकक्षमा सेवाग्रहीलाई गुनासोसम्म पोख्ने ठाउँ छैन । जिल्लाबाट विषयगत कार्यालयबाट आएका कर्मचारी हाजिर गर्नछ, बाहिर जान्छन ।
२० वर्षपछि भएको स्थानीय चुनावबाट जनप्रतिनिधि आएको वर्षदिन पुग्न लाग्यो, विकासमा आमुल परिवर्तन हुन्छ भन्ने सर्वसाधारणको अपेक्षा छ । काम गर्ने, जोश, जागर र उत्साह पनि जनप्रतिनिधिमा छ । स्थानीय विकास मन्त्रालयले सार्वजनिक गरेको कर्मचारीको संगाठानिक संरचनामा सानो गाउ“पालिकामा पनि ६० जना कर्मचारी चाहिन्छ । त्यसको लागि यहाँ करोडौको लगानीमा ठूलै भवन बनाउनुपर्छ ।
सदरमुकामको सन्धिखर्क नगरपालिका पूर्वाधारमा सम्पन्न छ । गाडी, दमकल, फोहोर उठाउने गाडी, डोजर छन । बाँकी दुई नगर र तीन गापामा भवन समेत छैन । शीतगंगा नगर भाडामा छ । नगर प्रमुख, उपप्रमुख र कार्यकारी अधिकृत बस्ने कार्यकक्ष छ । अरु कर्मचारीलाई मिलाएर राखिएको छ । तर, विषयगत कार्यालयबाट आएका कर्मचारीलाई बसेर काम गर्ने कार्यकक्ष अभाव नै छ । मालारानी गापा कार्याकारी अधिकृत जनकराज पंथीका अनुसार हल सहित ८ कोठा भाडामा लिएको बताए ।