रिक्सा चालकसँग झडप हुँदा भरतपुरमा प्रहरीद्वारा हवाइ फायर

चितवन (अर्घाखाँची डट्कम) चितवनको भरतपुरमा आन्दोलनरत रिक्सा चालकसँगको झडपमा प्रहरीले केही राउन्ड हवाइ फायर गरेको छ।
चितवन प्रहरी प्रमुख एसपी सुनिल राठौरले दिएको जानकारीअनुसार राजमार्ग बन्द गर्न खोज्ने रिक्सा चालकहरूले प्रहरी कार्यालय जलाउन खोजेपछि भीड नियन्त्रण गर्न प्रहरीले केही राउन्ड हवाइ फायर र अश्रु ग्यास हानेको हो।

प्रहरी र रिक्सा चालकको झडपमा परी पाँच प्रहरी र केही रिक्साचालक घाइते भएका छन्।
रिक्सा चालकहरूले प्रहरी चौकी अघि राखिएको एउटा मोटरसाइकलमा आगो लगाइदिएका छन्।

राठौरले तनावपूर्ण स्थितिलाई सामान्य बनाउन प्रयास भइरहेको बताए।  
भरतपुर महानगरले साउन ५ देखि मुख्य राजमार्गमा अटो रिक्सा चलाउन प्रतिबन्ध लगाएको थियो। त्यसैको विरोधमा अटो रिक्सा चालक  र व्यवसायी आन्दोलन गरिरहेका छन्। 

उच्च अदालतको आदेश भन्दै भरतपुर महानगरपालिकाले मंगलबारदेखि राजमार्गमा तीनपांग्रे सवारी सञ्चालनमा रोक लगाएपछि तिनपांग्रे व्यवसायी थप आन्दोलित भएका हुन्।

भरतपुर महानगरपालिकाले गएको साउन ५ गतेदेखि राजमार्ग क्षेत्रमा अटो रिक्सा र ट्याम्पो चलाउन रोक लगाउने निर्णय गरेको थियो । सो निर्णयको विरोधमा उच्च अदालत हेटौडामा मुद्धा समेत परेको थियो । अदालतले वैकल्पिक सडक भएका स्थानमा अटो रिक्सा राजमार्गमा चलाउन नदिन महानगरको पक्षमा फैसला गरेको थियो । तथापि सहमति नभएपछि महानगर र मजदुर एवम् अटो व्यवसायीबीच मंगलवार र बुधबार विहान छलफल भए पनि सहमति हुन सकेन ।

राजमार्गमा गुड्न पाउनुपर्ने अडान मजदुरहरुले नछाडेपछि सहमति नभएको हो । महानगरले सवारी चाप अघिक भएको र दुर्घटना बढाएको भन्दै राजमार्गमा कुनैपनि हालतमा गुड्न नदिने बताउँदै आएको छ । सेतो पाटी बाट साभार