विराटनगर, पाइपबाट ग्यास आउँछ भनेको सुन्दा विराटनगर–१४ जतुवाका योगेन्द्र मिश्रलाई आश्चर्य लाग्थ्यो । आफ्नै जीवनकालमा पाइपबाट आएको ग्यासले पकाएको खाना पाउला भनेर उनले कहिल्यै सोचेका थिएनन् । तर बिहीबार बुहारी र पत्नीलाई पन्छाउँदै भान्सा चहार्दै थिए । प्राविधिकले पाइपको अक्सिजन निखार्न पहिलो पटक उनकै भान्सामा सलाइ कोर्न लगाए । मिश्रले सलाइ कोर्दै चुल्होमा के पुर्याएका थिए ह्वारै आगो बल्यो ।
‘मलाई त विश्वासै लागेको थिएन, गोबरको शक्तिबाट आएको पाइपको ग्यासले खाना पकाउँला भन्ने विश्वास थिएन’, मिश्रले अनुुभव सुनाए । अहिले मिश्रको भन्सा कोठाबाट एजपी ग्यास विस्थापित भएको छ । बिहीबार पूर्ण परीक्षण सकिएपछि उनले नियमित यही ग्यास चुल्होमा पाकेको खाना खानेछन् । कति बिल उठ्छ घरबाहिर सबैले देख्ने गरी रोखेका स्थानमा रहेको मिटरले प्रस्ट देखाउँछ ।
३२ घरले बिहीबारदेखि पाइपबाट आएको ग्यासमा नियमित खाना पकाउँदै छन् । करिब १ वर्षअघिको योजना साकार हुँदा स्थानीय सुमनकुमार मण्डल पनि खुसी देखिन्छन् । ‘कमजोर आर्थिक अवस्था भएकाहरूका लागि त राहत भयो नि’, उनले भने, ‘अब बन्द, हड्ताल भयो भने पनि हामीलाइ चिन्ता नहुने भयो ।’
करिब ६५ लाखको लागतमा यो परियोजना सञ्चालन भएको हो । स्थानीय श्रीकृष्ण गौसेवा सदनले नेपाल ऊर्जा विकास कम्पनीको सहयोगमा करिब ८५ परिवारलाइ वैकल्पिक ऊर्जा पाइपमार्फत भान्सासम्म पुर्याउने लक्ष्य लिएको हो । पहिलो चरणअन्तर्गत ३२ परिवारमा ग्यास पाइप जडान गरिएको छ । लगातार काम भइरहेको परियोजनामा चाँडै अन्य घरधुरीमा पनि पाइप जोडिने कम्पनीका प्राविधिक हरिशरण श्रेष्ठले जानकारी दिए । अन्नपूर्ण पोष्टमा खबर छ