उत्तर कोरियाद्दारा पारमाणविक र क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता

news
संयुक्त राष्ट्रसंघले उत्तर कोरियाले पारमाणविक र क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता दिइरहेको जनाएको छ ।
राष्ट्रसंघीय प्रतिबन्धको उल्लंघन गर्दै प्योङयाङले जहाजबाट गैरकानुनीरुपमा पेट्रोलियम पदार्थ ओसारपसार गरिरहेको र विदेशमा अस्त्र बेच्ने प्रयास पनि गरिरहेको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले तयार पार्न लगाएको एक अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
स्वतन्त्र विज्ञहरुको समूहले उक्त गोप्य अध्ययन प्रतिवेदन सुरक्षा परिषदलाई शुक्रबार बुझाएको हो ।
उत्तर कोरियाले भने यसबारेमा कुनै टिप्पणी गरिसकेको छैन ।
गत हप्ता अमेरिकी गुप्तचर अधिकारीहरुले पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनसँगको ‘न्यानो सम्बन्ध’विपरीत उत्तर कोरियाले नयाँ ब्यालिस्टिक क्षेप्यास्त्रको विकास गरिरहेको बताएका थिए ।
गत जुनमा सिंगापुरमा गरिएको ऐतिहासिक भेटवार्तामा राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले कोरियाली प्रायद्वीपलाई निःशस्त्रीकरण गर्ने दिशामा मिलेर काम गर्ने सहमति गरेका थिए ।
राष्ट्रसंघको उक्त प्रतिवेदनमा उत्तर कोरियाले पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रम नरोकेको र गैरकानुनीरूपमा जहाजबाट व्यापकरुपमा पेट्रोलियम पदार्थ ओसारपसार गर्नुका साथै सन् २०१८ मा कोइला ओसारपसार गर्दै सुरक्षा परिषदको प्रस्ताव उल्लंघन गरिएको उल्लेख छ । (एजेन्सी)