वीरेन्द्र केसी कान्तिपुर
पाणिनी, अर्घाखाँची । पाणिनी गाउँपालिकाका ९ वटै वडाका टोलैपिच्छे सडक सञ्जाल पुगेको छ । गाउँपालिकाले नयाँ सडक खन्न बजेट छुट्याएको छैन । तर, भएका सडक स्तरोन्नतिका लागि गाउँसभाबाट ३ करोड ३७ लाख रुपैयाँ छुट्याइएको छ ।
गाउँपालिकाभित्र साना र ठूला गरी झन्डै दर्जन छन् । सन्धिखर्क, पाल्पा तानसेन र कपिलवस्तुको सालझन्डीले पाणिनीलाई बजारसँग जोडेको छ ।
सरकारी बजेट, रेमिट्यान्स, चन्दा र अन्य आम्दानीबाट वडाका टोलैपिच्छे सडक बनेका छन् । बिरामी पर्दा घरअगाडि नै एम्बुलेन्स र निजी गाडी आउँछ । ‘मुख्य सडकमा अहिले पनि नियमित गाडी चल्छन्,’ गाउँपालिका अध्यक्ष अच्युत गौतमले भने, ‘झरी पर्दा भेलले बाटो खोलेर खाल्डाखुल्डी पार्ने भएकाले वर्षामा अलि समस्या छ ।’ ग्रेड नमिलेका स्थानमा मिलाउने, दूरी छोटो पार्ने, सडकको नाली काट्ने, तलपट्टि जाली र वाल लगाएर मर्मत गर्न रकम विनियोजन गरिएको उनले बताए । ‘पहिला मुख्य सडक हिलो र धूलोमुक्त गरी नमुना गाउँपालिका बनाउने योजना अघि सारेका छौं,’ उनले भने, ‘सडकमा सरर गाडी गुड्ने बनाइन्छ ।’
तलमाथि पहिरो रोक्ने रूख रोपिँदै छ । धेरै सडकमा नाली अभावमा भलले खोलेर हैरानी पर्छ । वाल, जाली राख्ने र नाली काटेर बनाएपछि फेरि बारम्बार एउटै सडकमा धेरै रकम खर्च गर्न नपर्ने गरी मर्मत गर्ने गौतमले बताए । गाडीमा तरकारी, दूध, मसला बालीलगायत बजार पुग्दा कृषितिर लाग्ने युवाको संख्या बढदो छ ।
वडाका सडक मर्मत गर्न आफ्नै ढंगले बजेट छुट्याएका छन् । गाउँपालिकाले मुख्य सडक मर्मतसम्भार, निर्माण सम्पन्न हुन बाँकी पूरा गर्ने र वडाले आफ्नै सडकको काम गर्ने गरी योजना अघि सारिएको छ । सडक मर्मत, ग्राभेल, स्तरोन्नति र कालोपत्रे गर्ने गाउँपालिकाको रणनीति छ ।
३० वर्षपहिले गाउँमा कम सडक थिए । सदरमुकाम आउन दिनभर पैदल हिंड्नुपथ्र्याे । बिस्तारै सडक सन्जालले सहरसँग गाउँ जोडिए । गाउँमा उत्पादन भएका वस्तु बजार जान थालेपछि आम्दानी भित्रिन थालेको उपाध्यक्ष लक्ष्मी गौतमले बताइन् । ‘सडक हरेक कुराले अत्यावश्यक छ,’ उनले भनिन्, ‘बिरामीलाई छिटो अस्पताल लैजान, गन्तव्यमा छिटो पुग्न र गाउँ सहरसँग जोडिन सडक विकास हो ।’
तीन वर्षअघि पणेनाको सिम्लेमा बाटो थिएन । पोखराथोकमा मोटर आएपछि सिम्लेमा सडक खनियो । सिम्लेबाट सदरमुकाम सन्धिखर्क र पाल्पाको तानसेन नियमित गाडी चल्न थालेपछि चिरञ्जीवी पौडेल घरमै बसेर कृषिकर्मतिर लागे ।
बाबुबाजेले इष्टमित्रकहाँ पाहुर लैजान र घरमा खान लगाएका दुई चार बोटमा फलेका सुन्तला घरबाटै बिक्री हुन थाले । ‘मोटर चलेपछि सुन्तला, खसीबोका, अन्नपात र तरकारी घरबाटै बिक्री हुँदा व्यावसायिक कृषिमा लागियो,’ उनले भने, ‘सुन्तलाका बोटसँगै मसलाबाली र तरकारी खेती छ । वर्षमा सात लाख रुपैयाँ बचत गर्छु ।’ बिहानै तानसेनसम्म बस र जिप चल्छन्,’ उनले भने, ‘तरकारी र सुन्तला गाडीमै पठाइन्छ, बेलुका गाडीमै पैसा घरमा आउँछ ।’
व्यापारीले गाडीसँग घरमै पैसा पठाइदिने उनले बताए । पाणिनीबाट १२ सय लिटर दूध, तरकारी, दालचिनीका पात र बोक्रा गाडीबाटै बजार पुगेपछि उत्पादनमै प्रतिस्पर्धा छ । ‘सडकले किसानको दूध, तरकारीलगायत उत्पादित वस्तु बजार पुर्याउन सहज भयो,’ उपाध्यक्ष लक्ष्मीले भनिन्, ‘घरमै बसेर मनग्य आम्दानी भएपछि विदेश जान छाडेर धेरैले कृषि गरेका छन् ।’ पाणिनिमा ६ हजार ५ सय घरधुरी बसोबास गर्छन् ।
खिदिमका रामु न्यौपानेले सदरमुकाम र पाणिनिमा जिप चलाउँथे । चालक पेसा छोडेर दुर्गाफाँटमा भैंसी पालेका छन् । उनीसहित २२ युवा सहकारीमा आबद्ध भएर दूध उत्पादन गर्छन् । चार सय लिटर दूध दैनिक बसले तानसेन लैजान्छ । दूध बेचेर वर्षमा तीन लाख रुपैयाँ आम्दानी गर्ने उनले बताए । ‘गाउँको उत्पादित वस्तु गाडीले बजार नपुर्याएको भए म विदेशमै हुन्थेँ होला,’ उनले भने, ‘भिसा रद्द गरेर पशुपालन र तरकारी उत्पादनमा लाग्ने युवाको संख्या बर्सेनि बढ्दो छ ।’ विदेशको कष्टभन्दा स्वदेशकै आम्दानी बढी भइरहेको उनले बताए ।