अर्घाखाँचीमा करको आतंक: निशुल्क हुने विवाहदर्तालाई भूमिकास्थान नगरपालिकामा एक हजार कर


अर्घाखाँचीडट्कम संवाददाता / रेडियो देउराली 
नुवाकोट, अर्घाखाँची । विवाह गरेको ३५ दिनभित्र विवाहदर्ता निशुल्क हुने कानुनी व्यवस्था छ । ३६ दिनपछि दर्ता गर्न आउनेलाई स्थानीय तहले आफ्नै ढंगले शुल्क लिने गरेका छन । पुरानो संरचनामा भन्दा संघीयमा दर्ता शुल्क बढी छ । जिल्लाका ६ स्थानीय तहले आ-आफ्नै तरिकाले शुल्क असुल्ने गरेका छन । कर तोक्न सक्ने अधिकारलाई प्रयोग गर्दै ६ वटा स्थानीय तहमा फरक-फरक शुल्क तोकिएको हो । नयाँ संरचनामा तीन नगर र  तीन गाउँपालिका रहेका छन ।
६१ वडा रहेको अर्घाखाँचीमा विवाहदर्ता शुल्क भने फरक फरक रहेको छ । नगरसभा र गाउँसभाको बैठकले शुल्क तोक्ने प्रवाधान रहेको छ । जस्मा सबैभन्दा चर्काे शुल्क भूमिकास्थान नगरपालिकामा एक हजार निर्धारण गरिएको छ । विवाह गरेका केही दम्पतीका अनुसार यो शुल्क अचाक्ली नै हो । नगरप्रमुख रेशम थापाले बैठकको निर्णयले उक्त रकम तोकेको बताउनु भयो । ‘विवाहमा भोजभतेर गरेर लाखौं खर्च गर्न तयार हुन्छन, उहाँले भन्नुभयो, ‘दर्ता शुल्क एक हजार तिर्न के गाह्रो ? यो बजेट हाम्रो खल्तीमा होइन, विकासमै खर्च हुने हो । स्थानीय सरकारको अधिकार भएकाले रकम तोकिएको उहाँले बताउनु भयो । 
पाणिनि गाउँपालिकाको पहिलो बैठकले दर्ता शुल्क एक हजार रुपैयाँ नै तोकेको थियो । कर शुल्क धेरै भएको भन्दै घटाउन सरोकारवालाले गाउँपालिकालाई सुझाव दिएपछी दोस्रो सभाको बैठकले ,,घटाएर ५० रुपैयाँ दर्ता शुल्क र सात सय रुपैयाँ सेवा शुल्क लिने निर्णय गरेको थियो । गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमले सरोकारवालाको सुझावपछि शुल्क घटाइएको बताउनु भयो । ‘७ सय ५० रुपैयाँ गाउँको विकास योजनाका काम गर्न खर्च गरिनेछ,’ उहाँले भन्नुभयो, ‘यति शुल्क जायज छ ।’छत्रदेव गाउँपालिकामा पनि ४ सय ५० रुपैयाँ निर्धारण गरिएको छ । ५० दर्ता शुल्क र चार सय सेवा शुल्क तोकिएको छ । 
मालारानी गाउँपालिकामा दुई सय रुपैयाँ तोकिएको छ त्यस्तै शीतगंगा नगरपालिकामा पाँच सय रुपैयाँ निर्धारण गरिएको छ । सन्धिखर्क नगरपालिकामा पहिलो नगरसभा बैठकमा १ सय २० रुपैयाँ निर्धारण गरिएको थियो । तेस्रो सभाको बैठकले २० रुपैयाँ घटाएर एक सय रुपैयाँ कायम गरेको छ । स्थानीय तहले आफूखुसी कर तोक्नु उचित नभएको जिल्ला बारका उपाध्यक्ष अधिवक्ता विजय खत्रीले बताउनु भयो ।अत्याधिक कर र चर्को मुल्यवृद्धिले जनता आजित बनेका छन । 
भूमिकास्थान नगरपालिकामा भएको एक कार्यक्रममा ।  फाइल तस्बिर